जेनजी आन्दोलनको कहर : बीमा कम्पनीहरूले दिए १ अर्ब ५८ करोड अग्रिम भुक्तानी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिकाे दाबीमा निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ५८ करोड ५६ लाख रूपैयाँ अग्रिम भुक्तानी दिएका छन् ।
आन्दोलन क्रममा आगजनी, तोडफोडका कारण भएको क्षतिमा दाबी परेको रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिन प्राधिकरणले निर्देशन दिएको थियो ।
उक्त निर्देशन अनुसार बीमा कम्पनीले उक्त रकम अग्रिम भुक्तानी दिएका हुन् ।
निर्जीवन बीमकहरूबाट प्राप्त जानकारी अनुसार आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको छ ।
कूल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिव रू. १९ अर्ब ६ करोड ७६ लाख रहेको छ ।
सम्पत्ति बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी बीमकहरूले करिव रू. १ अर्ब ३२ करोड ७२ लाख दाबी भुक्तानी गरिसकेका छन् ।
सम्पत्ति बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि ५९८ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट हालसम्ममा ५२ वटा सर्भे रिर्पोट प्राप्त भएको निर्जीवन बीमकहरूले जानकारी दिएका छन् ।
यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिव रू. ३ अर्ब ४१ करोड ६ लाख रहेको छ ।
बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. २४ करोड ९१ लाख दाबी भुक्तानी भएको छ ।
आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको जानकारी बीमकहरूले दिएका छन् ।
यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको र दाबी रकम करिव रू. ३८ करोड ३ लाख रहेको छ ।
बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. ८७ लाख दाबी भुक्तानी गरेका छन् ।
आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् ।
यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिव रू. १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् ।
अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिव रू. ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिव रू. ५ लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको छ ।
अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् ।
नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ ।
बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमैं सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानविनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ ।
साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको छ ।













