गरिमा विकास बैंक घोषणा गर्यो आकर्षक लाभांश, बोनस र नगद कति ?
काठमाडौँ । गरिमा विकास बैंकले आफ्ना सेयर धनीहरूलाई लाभांश वितरण गर्ने भएको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१∕०८२ को मुनाफाबाट सेयर धनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात् सेयर धनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा चुक्ता पुँजी रहेको छ । यस बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी उन्नाइसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात् विकास बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैयाँ २२ पैसा कायम हुनेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।













