गभर्नरको लागि ५ गाडी अट्ने, ४ बेडरुम भएको घर खोज्दै राष्ट्र बैंक
काठमाडौं । जेनजी आन्दोलनमा घर जलेपछि नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि नयाँ निवास खोज्ने प्रयास जारी राखेको छ । तर, अहिलेसम्म खोजेजस्तो घर भेटिएको छैन ।
असोज १२ गते सूचना जारी गर्दै बैंकले घर भाडाका लागि प्रस्ताव आह्वान गरेको थियो । तर, असोज २७ सम्म कुनै पनि उपयुक्त प्रस्ताव नपरेपछि अब कात्तिक १६ गतेसम्मको म्याद थपिएको हो ।
गभर्नर निवासको लागि ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्र, कम्तीमा १६–२४ आना क्षेत्रफल, ५ कार पार्किङ सहितको आरसीसी स्ट्रक्चर भएको १००० वर्गफुट प्लिन्थ एरियाको २.५ देखि ३ तलासम्मको घर आवश्यक छ ।
घरमा ४ वटा बेडरुम (कम्तीमा एक मास्टर), लिभिङ र डाइनिङ हल, स्टोर र सुरक्षाकर्मीका लागि छुट्टै भवन हुनुपर्ने, साथै सम्पूर्ण आधारभूत सेवा पूर्वाधार उपलब्ध हुनुपर्ने शर्त राष्ट्र बैंकले तोकेको छ ।
सुरक्षाको दृष्टिले गभर्नरलाई तत्काल सुरक्षित आवासको आवश्यकता रहेकाले बैंकले इच्छुक व्यक्तिहरूलाई पुन: प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।















