१००० दरका नोटको अभाव चर्कियो, बैंकमा चेक साट्नै समस्या - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

१००० दरका नोटको अभाव चर्कियो, बैंकमा चेक साट्नै समस्या



काठमाडौँ । एकातिर ठूला नेताका घरमा भण्डारण गरिएको पैसा जलेका खबरहरु आइरहँदा बजारमा रू. १००० दरका नोट अभाव भएको छ । यही कारण चेक साटेर ठूलो रकम निकाल्न चाहने ग्राहकलाई पैसा दिन समेत अप्ठेरो पर्न थालेको गुनासो बैंकरहरुले गरेका छन् ।

नेपालमा पोहोर सालदेखि नै १००० दरका नोटको अभाव हुन थालेको थियो । तर यो समस्या अब झन् गहिरिँदै गएको बैंकरले बताए । नोटको अभाव चर्किएपछि व्यवस्थापन गर्न नसकेर नेपाल राष्ट्र बैंकले एटीएम बूथबाट निकाल्न मिल्ने नगदको सीमा हालसालैमात्र घटाएको बैंकरको बुझाइ छ ।

अझ राष्ट्र बैंकले त चेक साट्ने सीमा पनि अहिलेको १० लाखबाट अझै घटाउने तयारी थालेको उनीहरु बताउँछन् । भलै यस कार्यलाई राष्ट्र बैंकले डिजिटल कारोबार प्रश्रय दिने कोसिसको रुपमा अथ्र्याइरहेको छ ।

राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जेनजी आन्दोलनका क्रममा नेताका घरमा पैसा जलेका खबरहरुलाई इङ्गित गर्दै नगदको कारोबार घटाउनु पर्ने सन्देश प्राप्त भएको बताए । ‘मिडियाहरुमा आएका खबर हेर्ने हो भने नोट धेरै बाँड्न नहुने रहेछ भन्ने देखिन्छ’, उनले भने । त्यसैले आफूहरुले डिजिटल कारोबारलाई बढावा दिने कोसिस गरिरहेको उनले सुनाए ।

उनले बजारमा नोटको गम्भीर अभाव नभएको बताए । ‘एटीएमबाट पैसा निकाल्ने सीमा घटाए पनि चेक साट्दा त बैंकले पैसा दिइरहेकै छ नि’, उनले भने, ‘त्यस किसिमको समस्याका बारेमा राष्ट्र बैंकमा छलफल भएको मैले पाएको छैन ।’ बरु डिजिटल कारोबारलाई बढावा दिन चेक साट्ने रकमको सीमा पनि घटाउने विषयमा छलफल चलिरहेको उनले पनि पुष्टि गरे ।

अहिलेको अवस्थामा विशेषगरी रू. १००० दरका नोटको अभावलाई लिएर पनि उनले अरु पनि कारण रहेको बताए । दशैँको बेलामा मानिसहरुले एटीएमबाट १००० का नोट निकालेर खुद्रा पैसा साटेका कारण बजारबाट यस्ता नोट खिचिएको उनले बताए । दशैँका बेला राष्ट्र बैंकले ६२ अर्ब बराबरको सुकिला नोट साटेको बताएको थियो । रू. ५ देखि १०० सम्मका नोट सटही गर्न अधिकांशले ५०० र १००० दरकै नोट उपयोग गर्छन् ।

यसरी बजारमा भएको १००० का नोट पनि राष्ट्र बैंकमा फिर्ता भएका कारण तत्कालका लागि बजारमा नोटको केही कमी देखिएको हुनसक्ने राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ । यस बाहेक नोट छपाइमा भएको ढिलाईले पनि केही न केही प्रभाव परेको उनीहरुले बताए ।

किन छापिएन नयाँ नोट ?

राष्ट्र बैंकले भर्खरै मात्र १००० दरका नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको छ । यस प्रक्रिया अनुसार कुनै एक सूचीकृत सुरक्षित मुद्रण प्रेससँग ४३ करोड थान नयाँ नोट छाप्ने तयारीमा केन्द्रिय बैंक लागेको छ । अघिल्ला अनुभवबाट हेर्दा यो प्रक्रिया लगातार अघि बढ्यो भने अर्को सालको भदौतिर १००० दरका नयाँ नोट बजारमा आउने छन् । तर त्यतिञ्जेल यी दरका नोटको अभाव चलिरहने छ ।

राष्ट्र बैंकका प्रवक्ता पण्डितले पनि अहिले रू. ५०० दरका नोटको छपाइ चलिरहेको र रू. १००० दरका नोट पनि छपाइको प्रक्रिया टुंगिनै लागेको बताए । यसले विस्तारै ठूला दरका नोटको अपूर्ति सहज हुने उनको भनाइ छ ।

यसअघि नयाँ नोट चलनचल्तिमा आएको ५ वर्षपछि राष्ट्र बैंकले फेरि १००० दरका नयाँ नोट छाप्ने तयारी थालेको हो । त्यसो त, यो कोसिस तीन वर्ष अघि नै भएको हो ।

राष्ट्र बैंकले २०७९ भदौमा हजार दरका नोट छपाइका लागि बोलपत्र आह्वान गर्यो । २०७९ पुस २६ मा भारत सरकार स्वामित्वको भारत प्रतिभूति मुद्रण तथा टक्सार निगम (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया)लाई रू. ५० र रू. १००० दरका नोट नोट डिजाइन, छपाइ र ढुवानी गर्न दिएको थियो ।

रू. ५० दरका ३० करोड थान नोट छाप्न भारतीय सरकारी कम्पनीले ५० लाख ४८ हजार ७८० अमेरिकी डलरमा ठेक्का पारेको थियो । तत्कालीन विनिमय दरअनुसार उक्त रकम ६६ करोड ६४ लाखभन्दा बढी हुन्छ ।

त्यो बेला रू. १००० दरका ४३ करोड थान नोट छाप्न अर्को १ करोड ११ लाख ३४ हजार ५०६ अमेरिकी डलरको ठेक्का दिइएको थियो । त्यतिबेलाको विदेशी विनिमय दरअनुसार यो रकम १ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ हुन्थ्यो ।

केन्द्रिय बैंकले त्यस बेला दिएको ठेक्का अनुसार २०८० सालको दशैँ अघि नै नोट छापेर ल्याइसक्नु पर्ने थियो । तर, भारतीय कम्पनीले नमुना नोट देखाउन ल्याउँदा गुणस्तरहिन पाइएपछि राष्ट्र बैंकले उक्त ठेक्का नै रद्द भयो । यही कारण २०८० सालको दशैँमा राष्ट्र बैंकले नयाँ नोट सटहीको सुविधा नै दिएन । त्यसबेला औपचारिक रुपमा ‘डिजिटल भुक्तानी बढाउन’ त्यसो गरिएको भने पनि वास्तबमा नोट अभाव मुख्य कारण थियो ।

राष्ट्र बैंकले ठेक्का रद्द गरिदिएपछि उक्त भारितीय कम्पनीले अदालतमा मुद्दा हाल्यो । यसले गर्दा नयाँ नोट छाप्ने प्रक्रिया लम्बियो । अदालतले राष्ट्र बैंकको पक्षमा फैसला दिएपछि केन्द्रिय बैंकले नयाँ ठेक्का आह्वान गर्न खोज्यो । तर उक्त भारतीय कम्पनीले सर्वोच्च न्यायालयको ढोका ढकढक्याएपछि राष्ट्र बैंकले ‘डिजाइन नै बदलेर’ नयाँ ठेक्का अघि बढाउने निचोड निकाल्यो ।

नोटको डिजाइन बदल्न मन्त्री परिषदले निर्णय गर्नुपर्ने भएकाले यसका लागि थप समय लाग्यो । यसरी केही महिनाअघि केपी ओली नेतृत्वको सरकारले डिजाइन बदलेर नयाँ नोट छाप्न स्वीकृति दिएको थियो । त्यसै अनुसार राष्ट्र बैंकले नयाँ डिजाइनको रू. १००० दरका नोट छाप्ने प्रक्रिया अघि बढाएको छ ।

६ वर्षपछिको प्रयास

नेपाल राष्ट्र बैंकले यसअघि २०७६ सालमा १००० दरका नोट छापेको थियो । ती नोटहरु २०७७ साउन ७ देखि चलनचल्तिमा पठाएको थियो । अहिले पनि हामीसँग भएको नोट त्यही हो, जहाँ ‘वि.सं. २०७६’ लेखिएको छ । त्यसबेला २०७६ असोज १२ मा खरीद सम्झौता भएको थियो भने त्यसको १० महिनापछि नोट जनाताको खल्तिमा पुगिसकेको थियो ।

उक्त नोट चीनको सुरक्षा मुद्रण प्रेस ‘चाइना ब्याङ्क नोट प्रिण्टिङ एण्ड माइनिङ कर्पोरेशन’ले छापेको हो । त्यस बेला ३१ करोड थान नयाँ नोट छाप्नमात्रै राष्ट्र बैंकले ९१ लाख ९० हजार अमेरिकी डलर खर्चेको थियो ।

त्योभन्दा पहिले केन्द्रिय बैंकले २०७३ फागुन ३ मा नयाँ १००० दरका नोटहरु चलनचल्तिमा ल्याएको थियो । यसरी त्यसबेला छापिएको नोटले ३ वर्ष ५ महिनाको माग धानेको थियो । राष्ट्र बैंकले सामान्यतया ३ वर्षको माग धान्ने गरी नयाँ नोट छाप्ने गरेको छ । तर यस पल्ट नयाँ नोट बजारमा आउन ६ वर्षभन्दा ज्यादा समय कुर्नुपर्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्