हिमालयन बैंकको स्वामित्व हस्तान्तर एक साताभित्र, नेशनल लाइफले कसलाई पठाउला सञ्चालक ?
हिमालयन बैंकको स्वामित्व हस्तान्तर एक साताभित्र, नेशनल लाइफले कसलाई पठाउला सञ्चालक ?
काठमाडौँ । हिमालयन बैंकको २ करोड ८० लाख कित्ता सेयर हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अबको एक साताभित्र बैंकको सेयर स्वामित्व हस्तान्तरण गरिसक्ने हिसाबले काम भइरहेको सम्बन्धित कम्पनीहरुले जनाएका छन् ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले सेयरको हक हस्तान्तरणका लागि आवस्यक पर्ने विभिन्न १८ किसिमका कागजात जुटाएर नामसारीको प्रक्रियामा पठाइसकेको बताएका छन् ।
उक्त कम्पनी पब्लिक लिमिटेड भएको र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कारण कम्पनी रजिस्ट्रारबाट नभई नेप्सेको प्लेटफर्मबाट सेयरको हक हस्तान्तरण हुन्छ । यसका धितोपत्र दलाल (ब्रोकर)हरुलाई जिम्मा दिइसकेको बताइएको छ । नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले ब्रोकर कम्पनीहरुलाई जिम्मा दिइसकेका कारण अबको एक सात्राभित्र हक हस्तान्तरण भइसक्ने अपेक्षा गरिएको बताए ।
पाकिस्तानी बहुराष्ट्रिय बैंक हबिबको स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर नेशनल लाइफ इन्स्योरेन्सले ‘एकमूष्ठ’ खरिद गर्न लागेको हो । यसका लागि नेपाल राष्ट्र बैंकले तिहार अघि नै अन्तिम स्वीकृति दिएको थियो । त्यसपछि गत आइतबार नेशनल लाइफ र हिमालन बैंक दुबैले धितोपत्र ब्रोकर कम्पनीहरुलाई सेयरको कारोबार टुंग्याउन जिम्मा दिइसकेका छन् ।
हबिबको स्वामित्वमा रहेको उक्त सेयर नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसामा किन्न लागेको हो । उक्त सेयरका लागि नेशनलले ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५३ रुयैयाँ तिर्ने छ । यसपछि हबिबले नेपालबाट २ करोड ३६ लाख अमेरिकी डलर हाराहारी पैसा पाकिस्तान लैजाने छ ।
उक्त सेयरको हक हस्तान्तरण भइसकेपछि हबिबका तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने फह्रान तालिबले राजिनामा दिने छन् । त्यसपछि बैंकको सञ्चालक समितिले तालिबको राजिनामा स्वीकृत गरेर नेशनल लाइफको प्रतिनिधीलाई सञ्चालक नियुक्त गर्न सक्छ ।
यस्तो प्रक्रियामा कसरी काम गर्ने भनेर आफूहरुले हिमालयन बैंकसँगै सल्लाह गर्नुपर्ने सीईओ खत्री बताउँछन् । हिमालयन बैंकका अधिकारीहरुले भने हबिबा प्रतिनिधिको राजिनामा आएपछि नेशनल लाइफले आफ्नो तर्फबाट सञ्चालक नियुक्त गर्न सञ्चालक समितिलाई निवेदन दिनुपर्ने र त्यसैको आधारमा नयाँ सञ्चालक नियुक्त हुनसक्ने बताएको छ ।
उक्त सेयर हस्तान्तरणपछि नेशनल लाइफ नै हिमालयन बैंकको सबैभन्दा ठूलो सेयरधनी बन्ने छ । अहिले नै डेढ प्रतिशत हाराहारी स्वामित्व बोकेको नेशनल लाइफले अर्को १३ प्रतिशतजति हबिबको सेयर किनेपछि ऊसँग हिमालयनको साढे १४ प्रतिशत हाराहारी स्वामित्व पुग्ने छ ।
त्यस कारण सबैभन्दा ठूलो स्वामित्वको मालिकलाई सञ्चालक समितिमा स्थान दिनुपर्ने हुन्छ । यसका लागि आगामी वार्षिक साधारणसभा कुर्न नपर्ने बैंकरहरुले बताएका छन् ।
तर नेशनल लाइफका तर्फबाट हिमालयनमा आउने सञ्चालक को हुन्छ भन्ने बारेमा चाहीँ अहिले नै कुनै टुंगो नलागेको सीईओ खत्री बताउँछन् । ‘त्यस विषयमा हाम्रो सञ्चालक समितिले निर्णय गर्छ । अहिलेसम्म कुनै निर्णय भएको छैन’, उनले भने ।













