काठमाडौंका साढे ५६ हजार महानगरबासी स्वास्थ्य बीमामा जोडिए
काठमाडौँ । अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् ।
यसमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति छन् ।
महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१–८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिएको हो । यस वर्ष १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरियो । उहाँहरुमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् ।
यस्तै, ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिएको बताइएको छ । १२० वटा स्वास्थ्य संस्थाको अनुगमन, १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस, वेवारिसे, विपन्न र वेसहाराको नि:शुल्क उपचार अन्तर्गत २१० जनालाई नि:शुल्क उपचार, नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जना, किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण, १ हजार २२२ पिन्ट नि:शुल्क रगत र रक्त तत्व उपलब्ध गराइएको छ । यता, वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरेको छ । ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन भएका छन् । यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा छन् ।
यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरुको लगत संकलन थालनी गरिएको छ । २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिएको छ । पर्व र विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरिएका छन् । डेङ्गी रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भएका छन् ।
महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपियाँ बजेट विनियोजन गरेको थियो । यसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख ८ हजार ८ सय रुपियाँ, नेपाल सरकारबाट प्राप्त ९ करोड ३८ लाख ६८ हजार ५ सय रुपियाँ र प्रदेश सरकारबाट प्राप्त २ करोड ९१ लाख ८० हजार रुपियाँ थियो । यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारबाट प्राप्त रकमको बित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ । प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ ।
कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको छ । गएको वर्षका सिकाइबाट विभागले यस वर्ष स्वास्थ्य विमा प्रथम विन्दु विस्तार गर्ने, केन्द्रीय प्रयोगशाला सञ्चालन गर्ने, सेवाग्राहीहरुको डिजिटल हेल्थ प्रोफाइल तयार पार्ने योजना कार्यान्वयन गरिरहेको छ ।
वडाबासीलाई प्राथमिक उपचार र आकस्मिक उपचार सन्बन्धी तालिम दिने, सामुदायिक विद्यालयहरुमा लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने, आँखा, दाँत र रक्त अल्पताको स्क्रिनिङ् तथा प्रारम्भिक उपचार गर्ने, ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने योजनालाई स्वास्थ्य विभागले कार्यान्वयन गर्दैछ ।













