दोहोरो अंकमा बढ्यो कामना सेवाको नाफा: मुख्य सूचकहरु थप बलियो, कस्तो छ वित्तीय प्रगति ?
काठमाडौं । कामना सेवा विकास बैंकले नाफा दोहोरो अंकमा वृद्धि गरेको छ । तीन महिनामै बैंके साढे १९ करोढ बढी खुद नाफा कमाएको छ ।
बैंकले शनिबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत साउनदेखि असोज मसान्तसम्म आइपुग्दा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने १२.९३ प्रतिशत धेरै हो । गत आवको पहिलो त्रैमासमा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि दोहोरो अंकमा वृद्धि भएको छ । तीन महिनामा बैंकले ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने १९.०६ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकको यस्तो आम्दानी ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
यता, संचालन नाफा पनि १०.८५ प्रतिशत बढेर २८ करोड २२ लाख ६३ हजार रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने १३ करोड ५२ लाख २१ हजार रुपैयाँ छ ।
बैंकसँग हाल ४.४१ प्रतिशत खराब कर्जा देखिएको छ । जबकि, गत आवको सोही अवधिमा यस्तो कर्जा ३.६ प्रतिशत रहेको थियो ।
बैंकले कुल ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा भने १ अर्ब ८८ करोड ५१ लाख रुपैयाँ राखेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २०.४६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५.३१ रुपैयाँ कायम भएको छ ।













