राष्ट्र बैंकमा एकै पल्ट ११ कार्यकारी निर्देशकको सरुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै पल्ट ११ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेको छ । केन्द्रिय बैंकमा १७ विभाग र गभर्नरको कार्यालय हेर्ने गरी १८ कार्यकारी निर्देशक हुन्छन् । तीमध्ये आधाभन्दा बढीको जिम्मेवारी हेरफेर भएको हो ।
केन्द्रिय बैंकको सबैभन्दा शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागमा रापु पौडेललाई लगेको छ । उनी राष्ट्र बैंकका काबिल अधिकारीमध्ये गनिन्छन् ।
दोस्रो शक्तिशालि विभाग मानिने आर्थिक अनुसन्धान विभागमा भने डा रामशरण खरेलको भने सरुवा भएको छैन । त्यसपछिको शक्तिशालि र आकर्षक ठानिने विदेशी विनियम व्यवस्थापन विभागमा किरण पण्डितलाई लगिएको छ ।
यसअघि पौडेल मुद्रा व्यवस्थापन विभाग र पण्डित भुक्तानी प्रणाली विभागमा थिए । यी दुबै अधिकारी नेकपा एमाले समर्थर रहेको रिपोर्टिङपछि गभर्नर पौडेलले कम आकर्षक र कमजोर ठानिने विभागको जिम्मा दिएको चर्चा राष्ट्र बैंकमा भएको थियो ।
तर त्यस बेला प्रकाशकुमार श्रेष्ठ, गुणाकर भट्टजस्ता चर्चित अर्थशास्त्रीहरु भएका बखत उनीहरुलाई यी विभागको जिम्मेवारी दिइएको र अहिले उनीहरुको बहिर्गमनसँगै हेरफेर भएको गभर्नर निकट स्रोतको भनाइ छ ।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई केन्द्रिय बैंकको अर्को शक्तिशाली ठानिने मानव संशाधन व्यवस्थापन विभागमा पठाएका छन् । त्यस्तै यसअघि विदेशी विनिमयमा रहेका रेवती नेपाललाई भने सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाएका छन् । नेपाल भने असाध्यै अप्ठेरा र असहयोगी अधिकृतका रुपमा चिनिन्छन् । उनलाई पूर्व गभर्नर महाप्रसाद अधिकारीले नै विदेशी विनिमयको हाकिम बनाइदिएका थिए ।
भद्र अधिकृतका रुपमा चिनिने दयाराम शर्मालाई गभर्नरले मौद्रिक व्यवस्थापन विभागमा तानेका छन् । यसअघि गभर्नर कार्यालयमा रहेका निर्देशक राजन विक्रम थापाको बढुवा भएपछि उनलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पठाएका छन् ।
त्यस्तै, विश्रुत थापा, सत्येन्द्र तिमिल्सिना, रोशनकुमार सिग्देल, डिल्लिराम पोख्रेल र अनुज दाहालको पनि सरुवा भएको छ ।
पौडेल गभर्नर भएपछि रामु पौडेललाई बैंक सुपरिवेक्षण विभागबाट मुद्रा व्यवस्थापन विभागमा पठाइएको थियो । उनलाई प्रवक्ताको जिम्मेवारीबाट पनि हटाइएको थियो । ६ महिनामै पौडेल राष्ट्र बैंकको शक्तिशाली मानिने बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा पुगेका छन् । यस्तै नियमनमा रहेका गुरु प्रसाद पौडेल मानव संसाधन व्यवस्थापन विभागमा पुगेका हुन् ।
रेवती प्रसाद नेपाललाई विदेशी विनियम व्यवस्थापन विभागबाट हटाएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाउँदा विदेशी विनिमय व्यवस्थापन विभागमा किरण पण्डित पुगेका छन् ।
किरण पण्डित रहेको भुक्तानी प्रणाली विभागमा वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका सत्येन्द्र तिमल्सिनाको सरुवा भएको छ । यस्तै वित्तीय संस्था सुपरिवेक्षण विभागमा मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापाको सरुवा भएको छ ।
यस्तै मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्माको गभर्नर कार्यालयमा सरुवा भएको हो । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका रोशन कुमार सिग्देलको बैंकिङ विभागमा र बैंकिङ विभागमा रहेका डा। डिल्लीराम पोखरेलको मौद्रिक व्यवस्थापन विभागमा सरुवा भएको छ ।
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहालको मुद्रा व्यवस्थापन विभागमा सरुवा हुँदा हालै बढेवा भएर गभर्नर कार्यालयमा पदस्थापन भएका राजन विक्रम थापाको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएको हो ।













