दावी भुक्तानीको चापमा निर्जीवन बीमा कम्पनी, व्यवसाय पनि दोहोरो अंकमा बढ्यो
काठमाडौं । जेनजी आन्दोलन लगायतका विभिन्न विपत्तिबाट अर्बौं रुपैयाँको दावी भुक्तानीको चाप खेपिरहेका निर्जीवन बीमा कम्पनीहरुको व्यावसाय वृद्धि भएको छ ।
हाल संचालनमा रहेका ठुला निर्जीवन बीमा कम्पनीहरुका व्यावसाय दोहोरो अंकमा वृद्धि भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको तीन महिनामा कम्पनीहरुले १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको असोज मसान्तसम्मको तुलनामा भने ११.१४ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा कम्पनीहरुले ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका थिए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोदनको क्षति उपर हाल निर्जीवन बीमा कम्पनीहरुमा २३ अर्ब २३ करोड ३७ लाख बढीको दावी पेश भएको छ । यस दावीमा कम्पनीहरुले २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ भुक्तानी दिइसकेका छन् । यता, गत असोज १८ र १९ गतेको क्षति उपर पनि बीमा कम्पनीहरुमा हालसम्म ३ अर्ब ७८ कारेड ४० लाख बढीको दावी पेश भएको छ । अझै दावी पर्ने क्रममा बढ्दो छ । कम्पनीहरुमा दावी भुक्तानीको चाप पनि बढ्दो नै छ ।
यस्तो अवस्थामा पनि अधिकांश कम्पनीहरुको व्यवसाय वृद्धि भएको देखिन्छ । तर, जेनजी आन्दोलनमा ठुलो मारमा परेको ओरियण्टलको भने केही घटेको छ । गत आवको तुलनामा कम्पनीको व्यवसाय ५.८७ प्रतिशत घटेको छ । यद्यपि, चालु आवको तीन महिनामा कम्पनप्ीले ९९ करोड ६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । जबकि, गत आवको सो अवधिमा भने ९० करोड ९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यता, राष्ट्रिय बीमा कम्पनीको व्यापार पनि २७.८४ प्रतिशत घटे ४१ करोड ४१ लाख रुपैयाँ कायम भएको छ ।
यी बाहेकका अन्य सबै कम्पनीहरुको व्यापारमा बढोत्तरी आएको छ । व्यवसायको आकारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडी देखिन्छ । समिक्षा अवधिमा कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ। यो गत आवको तुलनामा ४.३२ प्रतिशत धेरै हो ।
यता, प्राय: पहिलो सूचीमा आउने शिखर इन्स्योरेन्सले पनि १३ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यद्यपि, शिखरको व्यापार वृद्धिदर भने २३.६२ प्रतिशत हो ।
सिद्धार्थ प्रिमियरको व्यापार पनि ४.४७ प्रतिशत बढेर १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, हिमालयन एभरेष्टको पनि ३०.२४ प्रतिशत बढेर १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ र एनएलजीको ३६.३५ प्रतिशत बढेर १ अर्ब २ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।
प्राधिकरणका अनुसार समिक्षा अवधिमा आइजीआई प्रुडेन्सियलले ९९ करोड ६ लाख, नेकोले ९२ करोड ८३ लाख, युनाइटेड अजोडले ८८ करोड २९ लाख, नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख, सानिमा जिआइसीले ६८ करोड १८ लाख, प्रभूले ५० करोड ५६ लाख र नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।













