अर्थमन्त्रीको घर जाने बाटो बनाउन राज्यमाथि अर्बौँ ऋणको भार थपिँदै, ‘काठमाडौँ बाहिर चाहीँ नेपाल हैन ?’ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थमन्त्रीको घर जाने बाटो बनाउन राज्यमाथि अर्बौँ ऋणको भार थपिँदै, ‘काठमाडौँ बाहिर चाहीँ नेपाल हैन ?’



काठमाडौँ । गाउँगाउँमा सडक, कुलो, नहर, खानेपानी, स्वास्थ्य चौकी र वस्ती विकाससम्मको बजेट काटेर दुईचार दिन ‘वाहवाही’ कमाएका अर्थमन्त्री रामेश्वर खनालले आफ्नो घर जाने बाटो सुधार गर्न राज्यकोषमाथि अर्बौँ रुपैयाँ ऋणको भारी थपिदिने भएका छन् ।

फागुन २१ को तय मितिमा चुनाव गराउन आएको सरकारले ‘यो देश भनेको काठमाडौँ उपत्यमामात्रै हो’ भनेजसरी बजेटलाई केन्द्रिकृतमात्रै गरेको छैन, पूर्ववर्ती मन्त्रीहरुले जस्तै आ–आफ्ना स्वार्थ साँध्न पनि भव्य रुपमा अघि बढेको छ भन्ने यो घटनाले देखाएको छ ।

अर्थमन्त्री खनाल भक्तपुरको बालकोटमा बस्छन् । सिंहदरबारबाट बालकोट जाने एउटैमात्र बाटो छ— कोटेश्वर । त्यहाँ ‘ट्राफिक जाम’ पर्यो भनेर खनालको टीमले पहिलेदेखि नै ‘फ्लाइओभर’ बनाउनु पर्ने धारणा मिडियामा छरिरहेका थिए । अहिले आफैँ अर्थमन्त्री बनेपछि उनले जापानसँग ऋण लिएर उक्त सडकलाई विकसित पार्न खोजेका छन् ।

यसका लागि जापानसँग ३४ अर्ब जापानी येन (अहिलेको मूल्य अनुसार करिब ३१ अर्ब ३१ करोड रुपैयाँ) ऋण लिन लागिएको हो । यस्तो ऋण सम्झौतामा धेरै चाँडो हस्ताक्षर गर्ने तयारी भएको अर्थमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । दुबै पक्षलाई सहज हुने मिति तय हुन बाँकी भएकालेमात्रै यो सम्झौताले औपचारिकता पाउन नसकेको हो । एक–दुई दिनभित्रै सम्झौता हुने अवस्था छ । यसका सबै प्रक्रिया टुंगिएर हस्ताक्षर हुनमात्रै बाँकी रहेको बताइएको छ ।

केही दिनयता विदेशी नियोगका डेलिगेट्स सार्वभौम क्रेडिट रेटिङका लागि आएको फिच रेटिङ्सको टोलीसँगको छलफलजस्ता कार्यक्रमले अर्थमन्त्रीको समयतालिका व्यस्त हुँदा हस्ताक्षर हुन रोकिएको हो ।

यो प्रोजेक्ट अन्तरगत ‘टनेल’ र ‘फ्लाइओभर’ निर्माण गर्ने तयारी भएको अर्थमन्त्री निकट स्रोतको दाबी छ । कोटेश्वरको ट्राफिक जाम कम गर्न तीनकुनेदेखि जडिबूटीसम्म ‘टनेल’ अर्थात् सुरुङ्ग बनाउने भनिएको छ । तर त्यो वास्तवमा सुरुङ्ग नभएर कलङ्की चोकमा जस्तै ‘अण्डरपास’ हुने छ ।

तीनकुने पार्क सकिएपछि विमानस्थलको भित्तामा भएको मुनि भैरव मन्दिरछेउबाट अण्डरपास निर्माण गर्ने तयारी भएको छ । त्योभन्दा अझ तलैदेखि सडकलाई उठाएर ग्वार्को वा कलंकीमा जस्तै ओभरपास (फ्लाइओभर भनिएको) बनाएर बालकुरमारीतर्फको सडकमा जोडिने छ । यसले काठमाडौँ र भक्तपुर ओहोर–दोहोर गर्न ‘अण्डरपास’को बाटो मिल्ने छ । यो बाटोको एक उपभोक्ता स्वयम् अर्थमन्त्री हुन् ।

गाउँमा जाने करीब पाँच दर्जन आयोजनाबाट सवा खर्ब बजेट काटेका अर्थमन्त्रीले काठमाडौँको एउटा चोक सुधार्न साढे ३१ अर्ब ऋण थप्नुले उनको ‘नियत’माथि नै प्रश्न उठाएको विकास विज्ञहरु बताउँछन् । ‘अहिले कोटेश्वरमा ३०–३२ अर्ब खर्च गरेर चोक सुधार्यो, त्यसपछि बानेश्वरमा त्यस्तै होला । बालाजुमा त्यस्तै होला, महाराजगञ्जमा त्यस्तै होला, बल्खुमा त्यस्तै होला, त्रिपुरेश्वरमा त्यस्तै होला, लैनचैरमा त्यस्तै होला’, सडक विभागका एक उच्च अधिकारी भन्छन्, ‘सबै पैसा काठमाडौँका चोक सुधार्नमै खर्च गर्ने हो भने बाँकी नेपालको विकास कसरी हुन्छ ?’

मुलुकको विकास र शक्ति काठमाडौँमा मात्रै केन्द्रित भएकै कारण यति सानो देशलाई पनि सात ओटा प्रदेशमा विभाजन गरिएको तथ्य अहिलेको सरकारले नस्वीकारेको ती अधिकारी बताउँछन् । स्रोर र शक्तिको विकेन्द्रिकरण गर्नका लागि संघीय प्रणाली अपनाइएको मुलुकमा सरकारले उल्टै ठूलो वित्तीय स्रोत काठमाडौँका चोक चोकमा मात्रै खर्च गर्न थाल्नु दुर्भाग्यपूर्ण भएको अर्थशास्त्रीहरु पनि बताउँछन् ।

काठमाडौ उपत्यकालाई मात्रै सिंगो देश ठान्ने ‘स्वार्थी वर्ग’ले यस प्रकारको असमानतामूलक विकास योजना अघि सार्न थालेको भनेर केही अर्थविदले खनालको आलोचना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्