१० श्रावण २०८३, आइतबार

विकास बैंकहरुको नाफा साढे ७८ करोड : गरिमा बन्यो नम्बर वान्, सांग्रिलाको उच्च ग्रोथ, घाटामा लुम्बिनी



काठमाडौं । तीन महिनामा विकास बैंकहरुले साढे ७८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

हाल संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा आठ विकास बैंकहरुले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । तर, यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४५.२० प्रतिशत कमी हो । गत आवको पहिलो त्रैमासमा ती बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएका थिए ।

समिक्षा अवधिमा तीन वटा बैंकहरुको नाफामा गिरावट आएको छ भने बाँकी सबैको बढेको देखिन्छ ।

पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक छ । बैंकको नाफा ११ प्रतिशत वृद्धि भई २५ करोड ५ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने बैंकले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । तीन महिनामा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यद्यपि, गत आवको तुलनामा भने २०.२४ प्रतिशत कमी हो । गत आवको सो अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

तेस्रो स्थानमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । तरयो नाफा गत आवको तुलनामा १५.१७ प्रतिशत कमी हो । गत आवको पहिलो त्रैमासमा शाइनले २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, कामना सेवा विकास बैंकले भने १२.९२ प्रतिशत नाफा बढाएको छ । तीन महिनामा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । जबकि, गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १७ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा सर्वाधिक नाफा बढाउनेको पहिलो सूचीमा भने सांग्रिला डेभलपमेन्ट बैंक देखिएको छ । बैंकको नाफा ४६.४८ प्रतिशत वृद्धि भई ८ करोड ८२ लाख ११ हजार रुपैयाँ कायम भएको छ । यता, महालक्ष्मी विकास बैंकले पनि नाफा ३.४२ प्रतिशत बढाएर ९ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ ।

तर, लुम्बिनी विकास बैंकमा ३ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा देखिएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकले २० करोड १९ लाख बढी नाफा कमाएको थियो ।


प्रतिक्रिया दिनुहोस्