यी १८ जिल्ला, जहाँ थुप्रिएका छन् बैंक, के राष्ट्र बैंकले ‘ब्राञ्च स्वाप’ नीति ल्याउँदै छ ?
काठमाडौँ । वित्तीय पहुँचको विस्तारका लागि भनेर सरकार र केन्द्रिय बैंकले समेत प्रोत्साहित गरेपछि बैंक तथा वित्तीय संस्थाले एक समयमा ब्यापक मात्रामा शाखा विस्तार गरे । नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तासम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ६ हजार ५२६ पुगेको छ ।
त्यसमध्ये वाणिज्य बैंकहरुको ५ हजार १०१, विकास बैंकहरुको १ हजार १३४ र वित्त कम्पनी (फाइनान्स)हरुको २९१ वटा शाखा रहेको विवरण राष्ट्र बैंकले दिएको छ । यसमध्ये पनि जम्मा १८ वटा जिल्लामा बैंक तथा वित्तीय संस्थाको सघनता उच्च देखिन्छ ।
ती १८ जिल्लामा वाणिज्य बैंकहरुको मात्रै ३१३७ र सबै गरेर ४१२१ वटा शाखाहरु छन् । जुन पुरै देशमा भएका शाखामध्ये वाणिज्य बैंकको ६१.५ प्रतिशत र सबै बैंक तथा वित्तीय संस्थाको ६३.२ प्रतिशत हो ।
काठमाडौँमा बैंकहरुको असाध्यै बाक्लो उपस्थिति छ । त्यसबाहेक रुपन्देही दोस्रो नम्बरमा देखिएको छ । कास्की, ललितपुर, मोरङ, चितवन, झापा, सुनसरी र कैलाली पनि उच्च संख्यामा बैंकहरु भएका जिल्ला हुन् ।
तर अब बैंकहरुको शाखा संख्या घटाउने बहस अघि बढेको छ । यसका लागि एउटा बैंकले अर्को बैंकको कर्जा किन्ने (स्वाप गर्ने) भनेजस्तै एउटा बैंकले अर्को बैंकको शाखा पनि किन्ने पद्धति विकास गर्नुपर्ने माग बैंकरहरुको छ ।
कतिपय बैंकलाई शाखा खोल्नु पर्ने र आफ्नो उपस्थिति स्थापित गर्नुपर्ने आवस्यकता छ भने कतियलाई शाखा घटाउनु पर्ने दबाब छ । यस्तो बेला सबै डेकेरेशनको पूर्वाधार सहित शाखा किनबेच गर्न राष्ट्र बैंकले बाटो खोलिदियो भने सबैभन्दा राम्रो विकल्प हुने बैंकरले बताएका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा नै शहरी क्षेत्रका शाखा घटाउन दिने विषय उल्लेख गरेको छ । तर शाखा बन्द गर्ने भन्दा बेच्न दिने विकल्प पनि खुल्ला गरियो भने यसले सबैको हित हुने बैंकर बताउँछन् ।













