जेनजी आन्दोलनको क्षति उपर बीमा कम्पनीले दिए साढे ३ अर्ब दावी भुक्तानी, घर र गाडी जल्नेले कति पाए ?
काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षति उपर निर्जीवन बीमा कम्पनीहरुले साढे ३ अर्ब बढी दावी रकम बीमितहरुलाई भुक्तानी दिएका छन् ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा व्यापाक मात्रामा क्षति पुगेको थियो । धेरै भौतिक संरचना र सवारी साधानहरुमा ठुलो क्षति पुगेको थियो ।
सोही क्षति उपर निर्जीवन बीमा कम्पनीहरुमा २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दावी परेको थियो । त्योमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् ।
कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटामा भुक्तानी भएको छ । सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब ४ करोड ९ लाख रुपैयाँ दावी परेको छ । त्यसमध्ये करिव २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४७ करोड ७ लाखमध्ये ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव ५४ करोड ७५ लाख दाबी परेको छ । मोटर बीमा अन्तर्गत कम्पनीहरुले ६ करोड २३ लाख रुपैयाँ दावी भुक्तानी दिएका छन् ।
परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६८ लाख दाबी रकममध्ये ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिव ३९ करोड ३० लाख दाबी रकममध्ये २३ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई २ अर्ब ४८ करोड १० लाख भुक्तानी
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।
नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी रकम १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।













