बीमा व्यवसायमा दोहोरो अंकको ग्रोथ, जीवन र निर्जीवन दुवै उकालो यात्रामा
काठमाडौं । नेपाली बीमा बजारमा सकरात्मक बढोत्तरी देखिएको छ । तीन महिनामै बीमा व्यवसायको आकार झन्डै साढे ६३ अर्ब पुगेको छ ।
नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
चालु आवको तीन महिनामा ६३ अर्ब २९ करोड १९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा १९.७० प्रतिशत धेरै हो । गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले ५२ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
कम्पनीहरु व्यवसाय बढाउन तातिएका छन् । आर्थिक शिथिलता लगायतले सुस्त रहेको नेपाली बजार अहिले सकरात्मक लयमा फर्किँदै छ । कोरोना महामारी, प्राकृतिक विपत्ति लगायतका कारण व्यवसाय प्रभावित भएको थियो । तर, अहिले विस्तारै आर्थिक गतिविधि चलायमान हुँदै गएको छ । निकै लामो समयसम्म बीमा व्यवसाय एकल अंकको ग्रोथ मात्रै थियो । तर, अहिले व्यवसाय वृद्धिदर दोहोरो अंकमा देखिन्छ ।
व्यवसाय बढाउन जीवन बीमा कम्पनीहरु निकै आक्रामक देखिएका छन् । समिक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले व्यापार २१.९५ प्रतिशत बढाएका छन् । गत आवको पहिलो त्रैमासमा कम्पनीहरुले ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय भित्र्याएका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर ५० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ पुगेको छ । हाल १४ वटा ठुला र ३ वटा लघु जीवन बीमा कम्पनीहरु संचालनमा छन् ।
हाल कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन उच्च दरमा वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीहरुले १० अर्ब ६६ करोड १५ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा भने २१७.२४ प्रतिशत बढी हो । जबकि, गत आवको सोही अवधिमा भने ८ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ मात्र थियो ।
यता, नविकरण मार्फत भने कम्पनीहरुले तीन महिनामा ३९ अर्ब ७० करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको तुलनामा २०.६१ प्रतिशत बढी हो । गत आवको असोज मसान्तमा कम्पनीहरुको यस्तो बीमा शुल्क आर्जन ३२ अर्ब ९२ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीहरुले १९ लाख ८३९ वटा बीमालेख जारी गरेका छन् । जबकि, गत वर्ष १४ लाख ६३ हजार ७२० वटा जारी गरेका थिए । हाल जीवन बीमा कम्पनीमा १ करोड ५९ लाख ९ हजार १३५ वटा बीमालेख सक्रिय छ ।
यता, निर्जीवन बीमा व्यवसायको आकार पनि ११.६७ प्रतिशत वृद्धि भएको छ । चालु आवको तीन महिनामा कम्पनीहरुले १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ बराबरको व्यवसाय भित्र्याएका छन् । जबकि, गत आवको सोही अवधिमा कम्पनीहरुले ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए । समिक्षा अवधिमा निर्जीवन बीमालेख बिक्री पनि ५.७८ प्रतिशत वृद्धि भई ७ लाख ८० हजार ६१३ पुगेको छ । जबकि, गत आवको सोही अवधिमा कम्पनीहरुले ७ लाख ३७ हजार ९३० वटा बीमालेख बिक्री गरेका थिए ।
व्यवसायसँगै बीमाको दायरा पनि बढेको छ । एक वर्षको अवधिमा नै ६.२१ प्रतिशत थप जनसंख्यामा बीमाको पहुँच बढेको देखिन्छ । प्राधिकरणका अनुसार हाल कुल जनसंख्याको ४९.०५ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन् ।













