९ श्रावण २०८३, शनिबार

निजी क्षेत्रमा जाने कर्जा १.५ प्रतिशत वृद्धि, कुन क्षेत्रमा कति गयाे ?



काठमाडाैं ।  चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत (रु.८२ अर्ब ९३ करोड) ले बढेकाे छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार तीन महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा ८२ अर्ब ९३ करोड रूपैयाँ बढेर ५५खर्ब ८० अर्ब ६४ करोड रूपैयाँ पुगेको छ ।

वार्षिक बिन्दुगत आधारमा २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।

२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.६ प्रतिशत, विकास बैंकहरूको कर्जा प्रवाह ०.५ प्रतिशत र वित्त कम्पनीहरूको १.६ प्रतिशतले बढेको छ ।

२०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत रहेको छ । २०८१ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.४ प्रतिशत र ६५.८ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.४ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.४ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १.६ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.० प्रतिशत, क्यास क्रेडिट कर्जा २.७ प्रतिशत, आवधिक कर्जा ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.६ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ४.३ प्रतिशत र अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्