सीमा हटेपछि सेयर कर्जा प्रवाह निरन्तर उकालो, ठूला लगानीकर्ताको दौडधुप
काठमाडौं । पछिल्लो महिनाहरुमा सेयर धितो कर्जा व्यापाक मात्रामा बढीरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने मार्जिन प्रकृतिको सेयर कर्जा झन्डै ३७ प्रतिशत वृद्धि भएको छ । तीन महिनामा ४ अर्ब बढी कर्जा प्रवाह गरेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुले कुल १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यो गत आवको तुलनामा भने ३६.९७ प्रतिशत धेरै हो । गत आवको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट यस्तो शीर्षकमा १ खर्ब ५ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । पछिल्लो तीन महिनामा भने ४ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो गत असार मसान्तसम्मको तुलनामा भने ३ प्रतिशत धेरै हो ।
नीतिगत लचकतासँगै यस्तो कर्जा प्रवाह व्यापाक मात्रामा बढेको हो । सामान्य लगानीकर्ताले आफ्नो सेयर धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्छन् । नेपाल राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्तामाथि निश्चित सीमा राखिएको थियो । तर, अहिले भने उक्त सीमा हटाएको छ । योसँगै सबैलाई यो सुविधा उपलब्ध भएको छ । यद्यपि, बैंक तथा वित्तीय संस्थाले सूचीमा भएका सबै कम्पनीका सेयर स्वीकार गर्ने भने हुँदैन । उनीहरूले आफ्नै मापदण्ड अनुसार छानेका सूचीकृत कम्पनीका सेयरमै धितो कर्जा उपलब्ध गराउने व्यवस्था गर्छन् ।
राष्ट्र बैंकका अनुसार सेयर धितोमा ऋण लिन ठुला लगानीकर्ता सक्रिय देखिएका छन् । हाल १ करोड माथि सीमा रहेको सेयर धितो कर्जा प्रवाह उल्लेख्य वृद्धि भएको छ । यस्तो सीमाको कर्जा प्रवाह ४४.३२ प्रतिशत वृद्धि भई १ खर्ब ९८ करोड ५८ लाख रुपैयाँ कायम भएको छ । पछिल्लो तीन महिनामै भने यस्तो सीमामा कुल २ अर्ब ५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा पनि ३०.२८ प्रतिशत बढेको छ । गत आवको असोज मसान्तसम्म आइपुग्दा यस्तो सीमा १३ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १७ अर्ब ७० करोड ९८ लाख रुपैयाँ कायम भएको छ । पछिल्लो तीन महिनामै बैंक तथा वित्तीय संस्थाहरुले यस्तो सीमामा १ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
समिक्षा अवधिमा सबै सीमाको सेयर धितो कर्जा बढेको देखिन्छ । २५ लाखदेखि ५० लाख सीमाको सेयर धितो कर्जा पनि १९.८६ प्रतिशत वृद्धि भएको छ । असोज मसान्तसम्म आइपुग्दा यस्तो शीर्षकमा १७ अर्ब ८२ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तो सीमा प्रवाह भएको कर्जा रकम भने २५ करोड ७६ लाख रुपैयाँ देखिन्छ।
राष्ट्र बैंकका अनुसार २५ लाख रुपैयाँ सीमाको सेयर धितो कर्जा प्रवाह पनि १४.०६ प्रतिशत वृद्धि ८ अर्ब ४३ करोड ८ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको असोज मसान्तसम्म यस्तो सीमामा बैंक तथा वित्तीय संस्थाहरुले ७ अर्ब ३९ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । पछिल्लो तीन महिनामा भने २५ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।













