गत असोजको बाढी–पहिरो : ३ अर्ब ७७ करोडको बीमा दावी, कम्पनीले दिए १ करोड १४ लाख भुक्तानी
काठमाडौं । बाढी पहिरोको क्षति उपर बीमा कम्पनीहरुले दावी भुक्तानी दिन सुरु गरेका छन् ।
गत असोज १८ गते यताको अविरल वर्ष तथा बाढी पहिरोका कारण भएको भौतिक तथा अन्य क्षति उपर कम्पनीहरुले बीमितलाई दावी भुक्तानी सुरु गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म यस्तो क्षति उपर ३ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ बराबरको दावी पेश भएको छ । ७४४ वटा प्रारम्भिक बीमा दावीमा कम्पनीहरुले १ करोड १४ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन् । विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक विवरणले यस्तो देखाएको हो ।
प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबी परेको छ । यस्तो बीमामा ३ अर्ब २१ करोड ५० लाख रुपैयाँ दावी पेश भएको हो । तर, हालसम्म सम्पत्ति बीमा अन्तर्गत ६४ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
यता, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव ४७ करोड ६६ लाखमध्ये करिव १ लाख ५४ हजार रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
यस्तै, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको ४ करोड १४ लाख बराबरको दावी परेको छ । यसमध्ये १ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गरेका छन् ।
यस्तै, मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव २ करोड ८२ लाखमध्ये ४८ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको छ ।
तर, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको १० को बीमा दाबी परेको छ । तर, यी दावीहरुमा हाल भुक्तानी शुरु भएको नभएको प्राधिकरणले जनाएको छ ।













