९ श्रावण २०८३, शनिबार

नेपाली बजारमा चम्किँदै ओमोडा र जेको ब्रान्ड, एसपीजी अटोमोबाइल्सको धमकेदार व्यापार



काठमाडौं । नेपाली बजारमा ओमोडा र जेको ब्रान्डको इलेक्ट्रिक सवारी (इभी) बेच्दै आएको एसपिजी अटोमोबाइल्सको व्यापारमा उछाल आएको छ । एक वर्षको अवधिमा नै कम्पनीको व्यापार झन्डै साढे २ गुणा वृद्धि भएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले हालै उपलब्ध गराएको पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।

शारदा समूह अन्तर्गतको कम्पनीले सन् २०२५ मा ३ अर्ब ६२ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा २.३४ गुणा अर्थात् १३४.७५ प्रतिशत बढी हो । जबकि, गत वर्ष कम्पनीले १ अर्ब ५४ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । एक वर्षमा नै कम्पनीको व्यापार २ अर्ब ८ करोड २० लाख रुपैयाँ बढेको देखिन्छ ।

हाल नेपाली अटो बजारमा ओमोडा र जेको ब्रान्डका इभीको उच्च माग छ । आकर्षक डिजाइन र फिचर, प्रतिस्पर्धी मूल्यका कारण छोटो समयमै यी ब्रान्ड उल्लेख्य मात्रामा बिक्री भएका छन् । ग्राहकमाझ निकै लोकप्रिय बन्दै गएको छ । इभी बिक्रीसँगै उपभोक्तालाई आवश्यक स्पेयर पार्टस् र सर्भिस पनि सुलभ मूल्यमा उपलब्ध प्रतिवद्ध रहेकाले पनि यसको लोकप्रियता बढ्दै गएको कम्पनीको दावी छ ।

सन् २०२५ मा ओमोडा इ फाइभ र जेको नै मुख्या आम्दानीको स्रोत बनेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीका अनुसार ओमोडा इ फाइभले ५७ प्रतिशत र जेकोले ३९ प्रतिशत आम्दानी दिएको छ ।

गत वर्षपछि नै कम्पनीको व्यापारिक गति चुस्त बनेको देखिन्छ । सन् २०२३ मा कम्पनीको वार्षिक व्यापार ६१ करोड ५० लाख रुपैयाँमा सिमित थियो ।

तथ्याङ्क अनुसार सन् २०२२ भने ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको व्यापार भएको देखिन्छ । यस्तै, कम्पनीले सन् २०२१ मा ३ अर्ब ५४ करोड २० लाख र सन् २०२० मा १ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

एसपीजी चेरी ब्रान्डका आइस सेग्मेन्टका ागि आधिकारिक डिलरका रुपमा पनि संचालनमा छ । कम्पनीले केही वर्षअघिसम्म निसान,डाट्सन ब्रान्डका सवारी साधानको सब डिलरको रुपमा पनि कारोबार गरिरहेको थियो । तर, सन् २०२३ देखि भने बन्द गरेको छ ।

एसपीजीले एक स्वामित्वयुक्त सोरुम र देशभरका १३ क्षेत्रीय डिलरशिपमार्फत सेवा विस्तार गर्दै आएको छ । कम्पनीका सवारीसाधन तथा सेवाहरू अहिले देशका प्रमुख शहर र प्रदेशहरूमा सहजै उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

मध्य–जुलाई २०२५ सम्मको सेयर संरचना अनुसार कम्पनीमा सन्दीप कुमार शारडाको ५१ प्रतिशत र गौरव शारडाको ४९ प्रतिशत स्वामित्व रहेको छ ।

कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको कर्जाका लागि क्रेडिट रेटिङ गराएको छ । इक्राका अनुसार कम्पनीले १ अर्ब ४० करोड ६० लाख रुपैयाँ अल्कालिन र ९ करोड ४० लाख रुपैयाँ दीर्घकालिन कर्जाका लागि रेटिङ गराएको हो ।


प्रतिक्रिया दिनुहोस्