महँगो लगानी र अन्तर्राष्ट्रिय ब्रान्डको साथ: व्यवसायिक सफलता खोज्दै ‘लेमन ट्री प्रिमियर’, कस्तो चल्दैछ कारोबार ?
काठमाडौँ । काठमाडौँको हरियालीले ढाकिएको ‘बूढानीलकण्ठ’ खेतिपाती र नयाँ बसोबासका संरचनाबाट भरिदैँ छ । त्यही बीचमा ‘लेमन ट्री प्रिमियर पाँचतारे होटल’ ले बिस्तारै आफ्नो परिचय खोजिरहेको छ ।
आधुनिक पर्यटन संरचनामा बनेको जस्तो देखिने यो होटलले सञ्चालनको छोटो अवधिमै आफूलाई बजारमा चिनाउने प्रयासत छ । ‘बूढानीलकण्ठ हेरिटेज’ले सञ्चालन गरेको यस होटलले छोटो समयमै व्यापरिक सफलता हासिल गरेको छ । होटलले सन् २०२५ को ९ महिनामै १६ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ ।
होटलले सन् २०२४ को सेप्टेम्बरबाट पूर्ण क्षमतामा सेवा प्रदान गर्न थालेको हो । यसअघि गत वर्ष सन् २०२४ को मार्च बाट आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो । सन् २०१८ मा स्थापना भएपछि २०२१ मा पब्लिक कम्पनीको संरचनामा रूपान्तरण भएको यस कम्पनीले ९९ कोठाको क्षमता राखेको छ ।
कम्पनीका अनुसार होटल निर्माणमा २ अर्ब ३९ करोड ६० लाख रुपैयाँ खर्चिएको थियो। । प्रतिकोठा निर्माण लागत करिब २ करोड ४२ लाख रुपैयाँ पर्छ ।
९ महिनाको व्यापार राम्रो देखिए पनि कम्पनीको नाफा भने धनात्मक छैन् । हाल कम्पनीले ८.५ घाटा व्यहोरेको रेटिङ प्रतिवेदनमा उल्लेख छ । उच्च प्रारम्भिक लागत, सञ्चालन खर्च तथा ब्रान्ड फ्रेन्चाइज शुल्कजस्ता कारणले मुनाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।
तर, कम्पनीको विश्वास भने कमजोर छैन । ब्रान्डले नेपाल मात्र नभई भारत, भुटान र दुबईमा गरी एक सय भन्दा बढी होटल सञ्चालन गर्दै आएको छ । यस कारण पनि दीर्घकालीन बजार विस्तारमा महत्वपूर्ण योगदान गर्ने कम्पनीको दावी छ ।
कम्पनीले ‘लेमन ट्री’सँग १५ वर्षका लागि फ्रेन्चाइज सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ब्रान्डको विशेषज्ञता र व्यवस्थापन मोडेलले होटललाई प्रतिस्पर्धात्मक बनाउने विश्वास कम्पनीले लिएको छ । बूढानीलकण्ठ हेरिटेजमा विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ता छन् ।
बिजनेस इन्ट्रेस्ट ग्रुपको सबैभन्दा धेरै स्वामित्व १०.७ प्रतिशत छ । दोस्रो धेरै आद्यान्त फन्ड म्यानेजमेन्टको ९.४७ प्रतिशत छ ।
यस्तै, कम्पनीमा स्काइ टच इन्भेष्टमेन्ट एण्ड कन्सल्टेन्सीको ७.७ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ७.१० प्रतिशत र पाठक एण्ड सन इन्भेष्टमेन्टको ५.४६ प्रतिशत छ । यता, जनकप्रसाद भट्टको ३.९३ प्रतिशत र डा. राजेन्द्र केसीको पनि ३.१४ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस बाहेकको सेयर हिस्सा अन्य लगानीकर्ताहरुको छ ।
‘लेमन ट्री प्रिमियर’ कर्पोरेट र पर्यटक दुबैका लागि काठमाडौँको एउटा नयाँ गन्तव्य बन्ने लक्ष्यसहित अघि बढेको रहेको छ ।
होटलले अब पूर्ण क्षमतामा सेवा विस्तार गरेपछि आगामी वर्षहरूमा थप स्थिरता र नाफामा पनि व्यापार सुधार गर्ने जनाएको छ । नयाँ आवासीय विस्तारले पनि यस होटललाई दीर्घकालीन रूपमा लाभदायी बन्न मद्दत गर्ने कम्पनीको अनुमान छ ।













