आर्थिक अनिश्चिततामै बीमा व्यवसायको आकार १२ अर्ब बढ्यो : जीवन बीमक आक्रामक, निर्जीवन स्थिर
काठमाडौं । जेनजी आन्दोलन र प्राकृति विपत्तिले दावी भुक्तानीको चाप रहेका बीमा कम्पनीहरुको व्यापारमा सकारात्मक बढोत्तरी देखिएको छ । कम्पनीहरुले व्यवसायको आकार दोहोरो अंकमा बढाएका छन् । एक वर्षमै थप १२ अर्ब हाराहारीको व्यवसाय भित्र्याउन सफल भएको देखिन्छ ।
नेपाल बीमा प्राधिकरण हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चार महिनामै बीमा व्यवसायको आकार ७९ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कायम भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १७.४६ प्रतिशत अर्थात् ११ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बढी हो । जबकि, गत वर्षको कात्तिक मसान्तसम्ममा कम्पनीहरुले ६८ अर्ब ५ करोड ७७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
हाल १४–१४ वटा ठुला जीवन र निर्जीवन बीमा कम्पनी तथा ७ वटा लघु बीमा कम्पनीहरु संचालनमा छन् । प्राधिकरणका अनुसार समिक्षा अवधिमा ती कम्पनीहरुले ३४ लाख ६१ हजार २० वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
समिक्षा अवधिमा जीवन तथा निर्जीवन बीमा दुवै कम्पनीहरुले व्यवसाय बढाउन तातिएका छन् । दुवै कम्पनीहरुको व्पापारा दोहोरो अंकमा वृद्धि भएको छ ।
प्राधिकरण अनुसार जीवन बीमा कम्पनीहरुको व्यवसाय १८.६७ प्रतिशत वृद्धि भई ६३ अर्ब ७२ करोड २८ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवका सोही अवधिमा कम्पनीहरुले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।
जीवन बीमा कम्पनीहरु नयाँ व्यवसाय भित्र्याउन बढी आक्रामक देखिएका छन् । कम्पनीहरुको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन २९.०२ प्रतिशत बढेर १४ अर्ब २० करोड ५९ लाख रुपैयाँ पुर्याएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुको यस्तो बीमा शुल्क आर्जन ११ अर्ब १ करोड ६ लाख रुपैयाँ कायम भएको थियो । जीवन बीमकले नविकरण मार्फत भने ४९ अर्ब ५१ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत वर्षको तुलनामा १६ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा कम्पनीहरुको यस्तो बीमा शुल्क ४२ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।
प्राधिकरणका अनुसार जीवन बीमालेख बिक्री पनि ३२.५४ प्रतिशत वृद्धि २४ लाख २९ हजार ४७ पुगेको छ । हाल सक्रिय जीवन बीमालेखको संख्या पनि १६.५४ प्रतिशत वृद्धि भई १ करोड ६० लाख ६३ हजार ४७८ कायम भएको छ ।
यता, निर्जीवन बीमा व्यवसाय पनि १२.९३ प्रतिशत वृद्धि भएको छ । कम्पनीहरुले चार महिनामा १६ अर्ब २१ करोड ४७ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जबकि, गत वर्षको सोही अवधिमा भने १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चार महिनामा कम्पनीहरुले १० लाख ३१ हजार ९७३ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन् । यो गत वर्षको तुलनामा भने ३.३४ प्रतिशत धेरै हो । जबकि, गत वर्षको कात्तिक मसान्तसम्म भने ९ लाख ९८ हजार ५९६ वटा बीमालेख बिक्री गरेको देखिन्छ ।
बीमा व्यवसायसँगै दायरा पनि वृद्धि भएको छ । प्राधिकरणका अनुसार हाल कुल जनंख्याको ४९.४८ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको देखिन्छ । जबकि, गत वर्षको कात्तिक मसान्तसम्म ४२.९२ प्रतिशत जनसंख्यामा मात्रै पहुँच पुगेको थियो । यद्यपि, अझै ५०.५२ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर रहेको देखिन्छ ।
नेपाली बीमा उद्योगमा आवद्ध हुने कर्मचारीको संख्या पनि क्रमश: बढ्दै गएको देखिन्छ । एक वर्षको अवधिमा ४५७ जना कर्मचारी थपिएको देखिन्छ । हाल बीमा कम्पनीहरुमा देशभर १२ हजार २७५ कर्मचारी आवद्ध छन् । जबकि, गत वर्षको सोही अवधिमा यस्तो संख्या ११ हजार ८१८ रहेको थियो । प्राधिकरणका अनुसार निर्जीवन बीमा ६ हजार २३४ जना र जीवन बीमामा ६ हजार ४१ जना छन् । यता, बीमा कम्पनीहरुको कार्यालय पनि बढ्दो नै छ । हाल देशभर ३ हजार कार्यालय मार्फत कम्पनीहरुले व्यवसाय विस्तार गरिरहेका छन् ।













