नियमित ‘प्रिमियम’ तिर्न थाले बीमित : बीमा सरेन्डर घट्दै, जथाभावी ‘पोलिसी’ थमाउने प्रवृत्ति रोकिएको हो ?
काठमाडौं । नेपाली बीमा उद्योगमा सुदृढीकरणको संकेत देखिन थालेको छ । आर्थिक मन्दी र अस्थिरताका बाबजुद बीमितले आफ्नो जीवन बीमा प्रिमियम (बमिा शुल्क) नियमित तिर्न थालेका छन् । जसको फलस्वरूप जीवन बीमालेख समर्पण (पोलिसी सरेन्डर) दरमा गिरावट आएको छ । योसँगै जीवन बीमा कम्पनीहरुको व्यापार पनि दोहोरो अंकमा बढेको देखिन्छ । नयाँ व्यवसाय विस्तारमा पनि कम्पनीहरु निकै तातिएका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चार महिना (कात्तिक मसान्तसम्म) मा जीवन बीमा व्यवसायमा १८.६७ प्रतिशत बढेको देखिन्छ । समिक्षा अवधिमा कम्पनीहरुले ६३ अर्ब ७२ करोड २८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । जबकि, गत आवको सोही अवधिमा ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
बीमितहरुले विगतमा तिर्दै आएका बीमा शुल्क नियमित बुझाउन थालेसँगै व्यापारको आकार बढ्न थालेको छ । योसँगै जीवन बीमालेख सरेन्डर गर्ने प्रवृत्तिमा पनि कमी आएको छ ।
प्राधिकरणका अनुसार चार महिनामा बीमितहरुले २९ हजार ४५९ वटा बीमालेख त्यागेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा भने १८.१४ प्रतिशत कमी हो । गत वर्षको कात्तिक मसान्तसम्ममा ३५ हजार ९८५ वटा बीमालेख बन्द गरेका थिए । यता, बीमा सरेन्डर रकम पनि ६.२७ प्रतिशत घटेको देखिन्छ । गत आवको पहिलो चार महिनामा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको सरेन्डर भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने घटेर ४ अर्ब ५२ करोड ६९ लाख रुपैयाँमा झरेको छ ।
बीमा सरेन्डर निममित प्रक्रिया भएपनि बीमा उद्योगका लागि यो नकारात्मक मानिन्छ । खासगरी, आर्थिक मन्दीका कारण बीमितहरूको प्रिमियम तिर्ने क्षमता घटेपछि पोलिसी सरेन्डर बढेको थियो । तर, अहिले कम्पनीहरु नयाँ व्यवसाय विस्तारमा पनि आक्रामक ढंगले तातिएका छन् । जसले सरेन्डर दरमा गिरावट आएको देखिन्छ ।
प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन २९.०२ प्रतिशत वृद्धि भएको छ । यो बीमितहरूको विश्वासको परिमाण हो । जसले सरेन्डर दर घट्न थालेको संकेत गर्दछ । समिक्षा अवधिमा कम्पनीहरुले कुल व्यवसायको झन्डै २२.२९ प्रतिशत नयाँ व्यवसाय भित्र्याएका छन् । चार महिनामा १४ अर्बा २० करोड ५९ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
तर, केही चुनौतीहरू अझै बाँकी छन् । अहिले पनि १२ लाख बढी बीमालेख नविकरण हुन बाँकी छन् । प्राधिकरणका अनुसार हाल व्यतित बीमालेखको संख्या १२ लाख १७ हजार ७०२ वटा बीमालेख छ । जसको कुल मूल्य ३६ अर्ब ७७ करोड ८५ लाख रुपैयाँ छ । जबकि, गत आवको सोही अवधिमा बीमितहरुले ३५ अर्ब १३ करोड २ लाख रुपैयाँ बराबरको १२ लाख ५ हजार ९६२ वटा बीमालेख नविकरण गरेका थिएनन् ।
बीमा अभिकर्ताहरूको असक्रियता र ग्राहकसँगको नियमित सम्पर्कको अभावले गर्दा नविकरण दरमा कमी आएको देखिन्छ । विज्ञहरुका अनुसार हाल आर्थिक गतिविधि विस्तार हुँदै भएको छ । बीमितहरू पनि बीमा योजनासँग जानकार हुन थालेका छन् ।
साथै, अभिकर्ताहरुले कमिसनको लोभमा जथाभावी पोलिसी थमाउने प्रवृत्तिमा पनि सुधार हुँदै गएको उनीहरुको भनाई छ । जसले सरेन्डर दर घट्न थालेको हो । अर्को तर्फ नियमक निकाय र कम्पनीहरु पनि पोलिसी सरेन्डर घटाउने विभिन्न प्रयासहरु गरिरहेका छन् । कम्पनीहरुले दावी भुक्तानी प्रक्रियालाई पनि तिव्र पारिरहेका छन् । यसअघि भुक्तानीमा हुने ढिलाईका कारण पनि बीमा कम्पनीहरुप्रति बीमितको विश्वास घट्दो थियो । जसले पोलिसी सरेन्डर बढ्दै गएको थियो ।
नियमकीय र स्वम बीमा कम्पनीहरूको संयुक्त पहलले पनि यस क्षेत्रमा सुधार ल्याउन ठूलो भूमिका खेलेको बताइन्छ । कम्पनी र प्राधिकरणहरुले बीमितहरूलाई बीमा योजनाबारे थप जानकारी र शिक्षा दिइरहेका छन्, जसले सचेता र जागरूकता बढाएको छ । बीमितहरूको बीमा योजनासँग सम्बन्धित थप जानकारीका कारण सरेन्डर दर घट्न थालेको विज्ञहरुको भनाई छ । साथै, बीमा कम्पनीहरूले आफ्ना ग्राहकसँग राम्रो सम्पर्क कायम राख्न र समयमै सेवा प्रदान गर्नका लागि प्रयासहरू तीव्र पारेका छन् ।
बीमितहरुले निश्चित अवधिमा लागि भनेर जीवन बीमालेख खरिद गर्दछन् । बीमा कम्पनीले पनि सोही अवधीभर नै सम्बन्धीत बीमितको जोखिम कभर गर्छ । तर, उक्त अवधी नसकिदैं बीमितहरुले पोलिसी बन्द गरेर आफुले पाउनुपर्ने रकम फिर्ता पनि लैजान सक्छन्, पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ठ बीमितलाई भुक्तानी गरिन्छ, त्यसपछि पोलिसी बन्द हुन्छ । हाल बीमा गरेको न्यूनतम तीन बर्षपछि मात्रै पोलिसी बन्द गर्न पाइने व्यवस्था छ ।













