बैंकहरुले कमाए १९ अर्ब नाफा : अग्रस्थानमा ग्लोबल र नबिल, प्राइम र एभरेष्टको टक्कर, कसको कति ?
काठमाडौं । वाणिज्य बैंकहरुले चार महिनामा झन्डै साढे १९ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत साउनदेखि कात्तिक मसान्तसम्म आइपुग्दा बैंकहरुले १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने १३.११ प्रतिशत कमी हो । गत आवको पहिलो चार महिनामा बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

नाफामा ग्लोबल आइएमई नै पहिलो सूचीमा छ । बैंकले चार महिनामा २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १८.९० प्रतिशत धेरै हो । गत वर्ष पनि कम्पनीले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ बढी नाफा कमााएको थियो ।
दोस्रो सूचीमा रहेको नबिल बैंकले पनि २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । जबकि, गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
चालु आवको चार महिनाको आँकडा अनुसार सर्वाधिक नाफा कमाउनेको तेस्रो सूचीमा प्राइम कमर्सियल बैंक छ । बैंकले १ अर्ब ५८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
चौंथौं सूचीमा रहेको एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यता, पाँचौं सूचीमा रहेको एनएमबि बैंकले पनि १ अर्ब २७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, समिक्षा अवधिमा कुमारी बैंकले १ अर्ब १८ करोड २ लाख रुपैयाँ र राष्ट्रिय बाणिज्य बैंकले १ अर्ब १३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख, हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमाले ७७ करोड ९२ लाख, प्रभूले ७३ करोड ७७ लाख, नेपाल एसबिआईले ६७ करोड २० लाख, सिद्धार्थले ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ६३ करोड ९ लाख, लक्ष्मी सनराइजले ६२ करोड ८१ लाख, माछापुच्छ्रेले ६० करोड ९९ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यता, एनआइसी एशियाले ३४ करोड ३४ लाख रुपैयाँ, कृषि विकासले ७ करोड ४९ लाख रुपैयाँ र सिटिजनले १ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।













