होटल र्‍याडिसनको अकुपेन्सी दर ३७% : प्रतिकोठाको मूल्य पनि घट्यो, कस्तो चल्दैछ व्यापार ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

होटल र्‍याडिसनको अकुपेन्सी दर ३७% : प्रतिकोठाको मूल्य पनि घट्यो, कस्तो चल्दैछ व्यापार ?



काठमाडौं । प्रतिष्ठित पाँचतारे होटल र्‍याडिसनको व्यापारमा सुधार देखिएको छ । ओरियन्टल होटलद्वारा सञ्चालित र्‍याडिसनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड २० लाख रुपैयाँ बढीको व्यापार गरेको छ । 

पछिल्ला केही महिना विदेशी पर्यटकहरूको आगमनमा उल्लेख्य सुधार आएसँगै व्यापार पनि बढेको रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ । अहिले होटलको व्यापारिक गतिविधिमा पनि सुधार आएको छ । गत आव अर्थात् सन् सन् २०२५ मा १ अर्ब ७ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

अघिल्ला केही वर्षहरूमा होटलले वार्षिक १ अर्ब बढीको व्यापार गर्दै आएको छ । प्रतिवेदन अनुसार सन् २०२४ मा १ अर्ब १९ करोड र सन् २०२२ मा १ अर्ब ११ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

व्यापारमा क्रमिक सुधार देखिए पनि होटलको अकुपेन्सी दर गत आवमा ३७ प्रतिशतमा झरेको छ । जबकि, यो गत वर्ष सन् २०२४ मा ४३ प्रतिशत थियो । हाल प्रतिकोठाको मूल्य पनि केही घटेर ९ हजार ४ सय २२ रुपैयाँ पुगेको छ । जुन सन् २०२४ मा १० हजार ७३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । 

हाल होटलले आफ्ना कोठा र सेवाहरूको गुणस्तर सुधार्नका लागि पुनर्निर्माण कार्यलाई प्राथमिकता दिइरहेको छ । सन् २०२३ को जुलाईमा ४० वटा कोठाको पुनर्निर्माण गरेको थियो । यो वर्ष भने थप ६० वटा कोठा पुनर्निर्माणको चरणमा छन् । 

होटलको सेवा विस्तारमा पनि महत्त्वपूर्ण कदम चालिएको प्रतिवेदनमा उल्लेख छ । होटलले ३० वटा अपार्टमेन्टहरूको निर्माण कार्य पूरा गरिसकेको छ । जसलाई गत जुलाईदेखि  सञ्चालनमा ल्याइएको थियो । हालको सशक्त व्यापार र योजनाबद्ध विकासका साथ होटल र्‍याडिसन अघि बढिरहेको छ । आगामी वर्षहरूमा थप वृद्धि र नयाँ सेवा विस्तारको योजनामा लागि रहेको जनाएको छ । २६० वटा कोठा र १.६ हेक्टर क्षेत्रफलमा फैलिएको यस होटल अझै धेरै यात्रुहरूको आकर्षण बन्ने लक्ष्यमा छ ।

इक्रा नेपालबाट कम्पनीले १ अर्ब ८० करोड ६० लाख रुपैयाँको कर्जा रेटिङ प्राप्त गरेको छ ।  जसमा १ अर्ब ५५ करोड ४० लाख दीर्घकालीन र २५ करोड २० लाख अल्पकालीन कर्जा समावेश छन् । 


प्रतिक्रिया दिनुहोस्