९ श्रावण २०८३, शनिबार

लिलामी चढिसकेपछि पनि ऋणीले ब्याज तिरेमा ‘असल कर्जा’ बनाउन पाइने



काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक पल्ट लिलामीमा चढिसकेको कर्जा पनि ऋणीले ब्याज तथा किस्ता तिर्न थालेमा त्यसलाई पुन: ‘असल कर्जा’मा वर्गीैकरण गर्न बाटो खोलिदिएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको परिपत्रमा यस्तो व्यवस्था गरिएको हो ।

अहिले धेरै बैंकले धितो लिलामी सुरु गरे पनि त्यस्तो धितो नबिकेर समस्या भएपछि पुरानै ऋणीलाई ब्याज तथा किस्ता तिराउने रणनीतिमा यस्तो निर्देशन आएको एक बैंकरले बताए ।

‘धितोमात्रै सकारेर त भएन । यसले बैंकको प्रोभिजनमात्रै बढाउने भयो । बाहिर धितो विक्री पनि नहुने भयो । यस्तो हलो अड्काउने परिपस्थितिको गाँठो फुकाउन जरुरी थियो, जुन अहिले राष्ट्र बैंकले गरिदिएको छ ।’ एक बैंकरले भने ।

राष्ट्र बैंकको नियममा ‘कर्जा असुल हुन नसकी लिलामी प्रक्रिया शुरु भएको वा असुली प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा’ त्यस्तो कर्जालाई खराब कर्जा अर्थात् ‘ऋण डुब्यो’ बनेर मान्नुपर्छ । त्यस्तो अवस्थामा ऋण रकमसमेतको सबै दायित्व थेग्नेगरी बैंकले शतप्रतिशत नोक्सानी व्यवस्था (प्रोभिजन) गर्नुपर्छ ।

तर अब संशोधित व्यवस्थाले पुरानै ऋणीलाई फकाइफुलाई उसको सम्पत्ती लिलामी नगर्ने शर्तमा ऋण तिर्न लगाउन पाइने भएको छ । थप गरिएको व्यवस्थामा भनिएको छ, ‘लिलामी प्रक्रिया शुरु भएपश्चात् कर्जा नियमित भएको खण्डमा उक्त कर्जालाई यस व्यवस्था अन्तर्गत खराब वर्गमा वर्गीकरण गरिरहन अनिवार्य हुने छैन ।’

यसले बैंकहरुलाई १ वर्षभन्दा लामो समय ब्याज तथा किस्ता नबुझाएर धितो लिलामी प्रक्रियामा गइसकेको अवस्थामा पनि पुन: त्यही ऋणीले किस्ता तिरेमा बैंकले प्रोभिजन घटाउन पाउने छ ।


प्रतिक्रिया दिनुहोस्