तातिँदै निर्जीवन बीमा बजार : कम्पनीहरूले बेचे झन्डै साढे १० लाख बीमालेख, कसले कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तातिँदै निर्जीवन बीमा बजार : कम्पनीहरूले बेचे झन्डै साढे १० लाख बीमालेख, कसले कति ?



काठमाडौं । निर्जीवन बीमकहरुले चार महिनामै साढे १० लाख बीमालेख बिक्री गरेका छन् । सो बराबरको बीमालेख बिक्रीबाट १६ अर्ब बढी प्रिमियम कलेक्शन गरेको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणबाट हालै प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चौमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

हाल १४ वटा ठुला र ४ वटा लघुबीमा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् । ती कम्पनीहरुले गत साउनदेखि कात्तिक मसान्तसम्म आइपुग्दा १० लाख ३१ हजार ९७३ वटा बीमालेख बिक्री गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३.३४ प्रतिशत धेरै हो । जबकि, गत आवको पहिलो चार महिनामा कम्पनीहरुले ९ लाख ९८ हजार ५९६ वटा निर्जीवन बीमालेख बेचेका थिए ।

प्राधिकरणका अनुसार चालु आवको चार महिनामा कम्पनीहरुले १६ अर्ब २१ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन छन् । यो गत आवको तुलनामा भने यो १२.९३ प्रतिशत धेरै हो । जबकि, गत आवको पहिलो चार महिनामा कम्पनीहरुले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

प्राधिकरणका अनुसार समिक्षा अवधिमा सबैभन्दा धेरै मोटर बीमा बिक्री गरेका छन् । चार महिनामा कम्पनीहरुले ५ लाख ६ हजार १३७ वटा मोटर बीमालेख बिक्री गरेका हुन् । सो बराबरको बीमालेख बिक्रीबाट कम्पनीहरुले ५ अर्ब ५१ करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको योगदान ३४ प्रतिशत छ ।

दोस्रो धेरै सम्पत्ति बीमालेख बिक्री गरेका छन् । कम्पनीहरुले १ लाख ५३ हजार ४०२ वटा सम्पत्ति बीमालेख बेचेका छन् । सो बराबरको बीमालेख बिक्रीबाट कम्पनीहरुले ४ अर्ब १८ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो कुल व्यवसायको २५.७९ प्रतिशत हुन आउँछ ।

प्राधिकरणका अनुसार कम्पनीहरुले १ लाख २९ हजार ६६ वटा सामुन्द्रिक बीमालेख, १ लाख ३१ हजार ३०० वटा लघुबीमालेख, ५४ हजार ५०४ वटा कृषि तथा बाली बीमालेख, ५ हजार ४४० वटा इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमालेख, ५३ वटा हवाई र ५२ हजार ७१ वटा विविध बीमालेख बेचेका छन् ।

युनाइटेड अजोड र शिखरले बेचे सर्वाधिक बीमालेख, कुन कम्पनीको कति बिक्यो ?

समिक्षा अवधिमा सबैभन्दा धेरै बीमालेख युनाइटेड अजोडले १ लाख ३६ हजार ४५२ वटा बिक्री गरेको छ ।

बीमालेखकै आधारमा भने शिखर इन्स्योरेन्स दोस्रो सूचीमा छ । शिखरले चार महिनामा १ लाख २ हजार ४३५ वटा बीमालेख बेचेको देखिन्छ । यद्यपि, बीमा शुल्कको आधारमा भने युनाइटेड भन्दा शिखर नै अगाडि छ । समिक्षा अवधिमा शिखरले १ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ प्रिमियम कलेक्शन गरेको छ । यता, युनाइटेड अजोडले भने १ अर्ब ७ करोड ३७ लाख रुपैयाँ प्रिमियम उठाएको देखिन्छ ।

बीमालेख बिक्रीदरकै आधारमा तेस्रो सूचीमा भने हिमालयन एभरेष्ट छ । कम्पनीले ९९ हजार १५८ वटा बीमालेख बिक्री गरि १ अर्ब ६० करोड ५८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, नेको इन्स्योरेन्स पनि ९२ हजार ९०४ वटा, सिद्धार्थ प्रिमियरले ९० हजार ३९५ वटा, सगरमाथा लुम्बिनीले ८४ हजार १३, एनएलजीले ६९ हजार १४९, आइजीआई प्रुडेन्सियलले ६७ हजार ४७८, नेपाल इन्स्योरेन्सले ५९ हजार ४४, सानिमा जिआइसीले ३७ हजार ५२ र प्रभू इन्स्योरेन्सले ३४ हजार १७५ वटा बीमालेख बिक्री गरेका छन् । सो बराबरको बीमालेख बिक्रीबाट यी कम्पनीहरुले क्रमश: १ अर्ब १४ करोड ८२ लाख, १ अर्ब ५४ करोड ७७ लाख, १ अर्ब ७८ करोड ३६ लाख, १ अर्ब २६ करोड २२ लाख, १ अर्ब २७ करोड ३६ लाख, ८६ करोड ६२ लाख, १ अर्ब २ करोड ३ लाख, र ६५ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार ओरियण्टलले १४ हजार ७६३ वटा, नेशनलले ८ हजार ४३९ वटा, राष्ट्रिय बीमा कम्पनीले ७ हजार ६४१ वटा बीमालेख बिक्री गरि क्रमश: ९२ करोड ४० लाख, ५० करोड ९५ लाख र ४३ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

लघुबीमा बीमालेख बेचे १ लाख २८ हजार पोलिसी, कसले कति ?

लघु निर्जीवन बीमा कम्पनीले पनि चार महिनामा १ लाख २८ हजार ८७५ वटा बीमालेख बिक्री गरेका छन् । सो बराबरको बीमालेख बिक्रीबाट कम्पनीहरुले ३६ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ ।

सबैभन्दा धेरै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३६ हजार ७२६ वटा बीमालेख बिक्री गरि ९ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । दोस्रो धेरै स्टार माइक्रोले ३३ हजार ५५४ वटा बीमालेख बिक्री गरेको देखिन्छ ।

कम्पनीले सो बराबरको बीमालेख बिक्रीबाट ७ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, नेपाल माइक्रोले पनि ३१ हजार ८१४ वटा बीमालेख बिक्री गरि ९ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता, ट्रष्ट माइक्रोले पनि चार महिनामा २६ हजार ८७१ वटा बीमालेख बिक्रीबाट ९ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्