३१ प्रतिशत बढ्यो रेमिट्यान्स : चार महिनामा भित्रियो पौने ७ खर्ब, कुन महिना कति ?
काठमाडौं । रेमिट्यान्स (विप्रेषण आप्रवाह) उच्च दोहोरो अंकमा बढेको छ । चार महिनामै पौने ७ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिकसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणले यस्तो देखाएको हो ।
चालु आवको चार महिनामा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल आएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ३१.४प्रतिशत धेरै हो । गत आवको कात्तिक मसान्तसम्म कुल ५ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ मात्रै भित्रिएको थियो ।
कात्तिकमा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ मात्रै रेमिट्यान्स आएको थियो । यस्तै, गत भदौमा पनि १ खर्ब ७४ अर्ब ६७ करोड र साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको आँकडा छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशत बढेर ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशत बढेको थियो । जबकि, गत वर्षको कात्तिक मसान्तसम्म ३ अर्ब ८९ करोड ५९ लाख अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या पनि उत्तिकै बढ्दो छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्सको आकार पनि बढ्दै आएको हो । चार महिनामै १ लाख ४५ हजार ९७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको देखिन्छ । यो संस्थागत र व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या हो ।
यता, पुन: श्रम स्वीकृति लिनेको संख्या पनि १ लाख २७ हजार ८३७ पुगेको छ । गत आवको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने र पुन: श्रम स्वीकृति लिनेको संख्या क्रमश: १ लाख ४७ हजार ४७८ र ९४ हजार १०५ रहेको थियो ।













