नयाँ वर्षको उत्सव चलिरहेका बेला स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी, ४० जनाको मृत्यु, ११५ घाइते - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नयाँ वर्षको उत्सव चलिरहेका बेला स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी, ४० जनाको मृत्यु, ११५ घाइते



काठमाडाैं । स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा नयाँ वर्षको उत्सव चलिरहेका आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ।

स्विट्जरल्यान्डको दक्षिणी भागमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा नयाँ वर्षको उत्सवका क्रममा एक बारमा भएको भीषण आगलागीमा करिब ४० जनाको मृत्यु र कम्तीमा ११५ जना गम्भीर घाइते भएको प्रहरीलाई उल्लेख गर्दै बीबीसीले लेखेको छ।

स्थानीय समयअनुसार राति करिब १:३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा आगो लागेको हो। उक्त समयमा नयाँ वर्षको पार्टी चलिरहेको थियो। घटनाको कारणबारे अनुसन्धान जारी रहेको भए पनि यो कुनै आक्रमण नभएको अधिकारीहरूले स्पष्ट पारेका छन्।

घटनामा विभिन्न देशका नागरिक प्रभावित भएका छन्। क्षेत्रीय प्रहरी कमाण्डर फ्रेडरिक गिस्लरले मृतकहरूको पहिचान गरी चाँडोभन्दा चाँडो परिवारलाई शव हस्तान्तरण गर्नु प्राथमिकता रहेको बताए।

आगलागी भएको भ्याले क्षेत्र पर्यटकहरूका लागि लोकप्रिय स्थान हो। घटनापछि १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र करिब १५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो।

धेरै घाइतेलाई गम्भीर जलन भएको र ६० जनालाई भ्यालेकै सियोन अस्पतालमा भर्ना गरिएको क्षेत्रीय गभर्नर म्याथियास रेनार्डले जानकारी दिए। अस्पतालको सघन उपचार कक्ष भरिएको र स्थानीय बासिन्दालाई अनावश्यक रूपमा अस्पताल जान नपरोस् भन्ने आग्रह पनि गरिएको छ।

केही घाइतेलाई लोजान, ज्युरिख र जेनेभा जस्ता अन्य सहरका विशेष बर्न युनिट भएका अस्पतालमा सारिएको छ। चिकित्सकहरूका अनुसार केही बिरामीहरू १५ देखि २५ वर्ष उमेर समूहका युवायुवती हुन् र उनीहरूलाई तेस्रो दर्जाको गम्भीर जलन भएको छ।

यसैबीच इटालीले आफ्ना १६ नागरिक अझै बेपत्ता रहेको र १२ देखि १५ जनाको उपचार भइरहेको जनाएको छ। फ्रान्सले पनि आफ्ना केही नागरिक बेपत्ता हुन सक्ने आशंका गरेको छ। मृतक तथा घाइतेको यकिन संख्या र राष्ट्रियता अझै पुष्टि भइसकेको छैन।

क्रान्स–मोन्टाना सन् १९८० को दशकमा विश्वकप स्किइङ आयोजना गरेर चर्चामा आएको लक्जरी रिसोर्ट हो। दशकौँ पुरानो ‘ले कन्स्टेलेसन’ बारमा तल नाचगान र माथिल्लो तलामा खेलकुद हेर्ने व्यवस्था रहेको थियो।

यस घटनाप्रति बेलायत, फ्रान्स लगायत युरोपेली संघका नेताहरूले गहिरो दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्न तत्पर रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्