भारत एक्लैले ओगट्यो कुल पर्यटकको २५ प्रतिशत हिस्सा, २०२५ मा कुन देशबाट कति पर्टटक नेपाल आए ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भारत एक्लैले ओगट्यो कुल पर्यटकको २५ प्रतिशत हिस्सा, २०२५ मा कुन देशबाट कति पर्टटक नेपाल आए ?



काठमाडौँ । सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ५८ हजार नाघेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को एक वर्षको अवधिमा कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका हुन्।

सरकारले सन् २०२५ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भए पनि सो लक्ष्य पूरा हुन सकेन। यद्यपि, अघिल्लो वर्षको तुलनामा भने पर्यटक आगमनमा वृद्धि भएको बोर्डले जनाएको छ।

वर्षको अन्तिम महिना डिसेम्बरमा मात्र ९८ हजार १९० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या सन् २०२४ को सोही महिनाको तुलनामा ७ प्रतिशतले बढी हो।

गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ ले नेपालको बाह्य पर्यटन क्षेत्रमा करिब एक महिनासम्म प्रभाव पारेको थियो। त्यसका बाबजुद पनि सन् २०२५ मा पर्यटक आगमन सन् २०२४ को तुलनामा बढेको छ।सन् २०२४ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या ११ लाख ४७ हजार ५६७ रहेको थियो।

कुन देशबाट कति पर्यटक आए?

सन् २०२५ मा पनि छिमेकी मुलुक भारत नेपाल भ्रमण गर्ने पर्यटकहरूको सूचीमा पहिलो स्थानमा रहेको छ।

सन् २०२५मा पनि छिमेकी मुलुक भारतले २५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ। भारतबाट सबैभन्दा बढी २ लाख ९२ हजार ४३८ जना पर्यटक नेपाल आएका छन् । याे नेपाल आएका कुल पर्यटककाे २५.२ प्रतिशत हाे ।

यसैगरी दाेस्राेमा अमेरिकाबाट १ लाख १२ हजार ३१६ जना पर्यटक नेपाल आएका छन् । जुन ९.७ प्रतिशत हाे।

यस अवधिमा चीनबाट ८.२ प्रतिशत अर्थात ९५ हजार ४८० जना पर्यटक नेपाल भित्रिएका छन् भने चाैथाेमा ९.७ प्रतिशत अर्थात ५८ हजार ६ सय ८४ पर्यटक नेपाल आएका छन् ।

यस्तै बङ्गलादेशबाट ५ प्रतिशत अर्थात ५७ हजार ५ सय ४५ पर्यटक, अस्ट्रेलियाबाट ४९ हजार ३ सय ५७, श्रीलंकाबाट ३७ हजार ५ सय ५०, थाइल्यान्डबाट ३० हजार २ सय ४३, जर्मनीबाट ३० हजार २ सय २७ र जापानबाट २४ हजार ७ सय ६३ पर्यटक नेपाल आएका छन् ।

क्षेत्रीय वितरणका आधारमा दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट सबैभन्दा बढी ३५.२ प्रतिशत पर्यटक नेपाल आएका छन् ।

अन्य एसियाली मुलुकहरूको हिस्सा २१.९ प्रतिशत रहेको छ भने युरोपबाट १९.१ प्रतिशत पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसैगरी अमेरिकाबाट ११.७ प्रतिशत, ओशिनिया क्षेत्रबाट ४.६ प्रतिशत, मध्यपूर्वबाट १.८ प्रतिशत र अफ्रिकी मुलुकहरूबाट ०.४ प्रतिशत पर्यटकको आगमन भएको छ । बाँकी ५.५ प्रतिशत पर्यटक अन्य विभिन्न मुलुकहरूबाट आएका हुन् ।

बोर्डले २०२६ लाई ‘आसियान पर्यटन वर्ष’ समेत घोषणा गरेको छ । यो अभियान अन्तर्गत २०२६ मा आसियान क्षेत्रबाट कम्तीमा ५० प्रतिशत पर्यटक आगमन बढाउने योजना बनाइएको छ ।

अहिले यो क्षेत्रबाट वार्षिक १ लाख हाराहारी पर्यटक आउने गरेका छन् । जसमा थाइल्यान्ड, म्यानमार, भियतनाम, कम्बोडिया लगायत देश पर्छन् ।


प्रतिक्रिया दिनुहोस्