झण्डै १२ प्रतिशतले बढ्यो औद्योगिक कर्जा, सबैभन्दा बढी बागमती र कम कर्णालीमा
काठमाडौं । औद्योगिक क्षेत्रको कर्जा ११.९५ प्रतिशतले वृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को वार्षिक आर्थिक गतिविधि अध्ययनमा आर्थिक वर्ष २०८०/०८१ को तुलनामा बढेको देखिएको हो ।
राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा बंकै तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ११.९५ प्रतिशतले वृद्धि भई १६ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ पुगेको बताएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ९.३५ प्रतिशतले बढेको थियो ।
कुल कर्जा मध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३०.४२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । औद्योगिक कर्जामध्ये सबभैन्दा बढी गैर–खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ३५.२७ प्रतिशत गएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
विद्युत ग्याँस तथा पानीसम्बन्धी उद्योगमा २६.२६ प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २१.८५ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा ११.७० प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी उद्योगमा ४.२३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा ०.६९ प्रतिशत कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ ।
औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी कर्जा प्रवाह भएको देखिएको छ । बागमतीमा मात्र गत वर्ष १२ खर्ब ८० अर्ब ९७ करोड कर्जा लगानीमा भएको राष्ट्र बैंले जनाएको छ । उक्त कर्जा पुरै उद्योगमा भएको कर्जाको प्रदेशगत हेर्दा ७१.३ प्रतिशत हो ।
औद्योगिक कर्जामा कोशी र लुम्बिनी प्रदेशको हिस्सा क्रमशः दोस्रो र तेस्रो रहेको छ । कोशीमा १ अर्ब ६० अर्ब ६४ करोड रुपैयाँ र लुम्बिनीमा १ खर्ब ४१ अर्ब २ करोड रुपैयाँ रहेको छ । कर्जा लगानीको हिस्सा हेर्दा कोशी ९.५ प्रतिशत र लुम्बिनी ८.३२ प्रतिशत रहेको छ ।
त्यस्तै, मधेश प्रदेशको ७.५ प्रतिशत, गण्डकी प्रदेशको १.६ प्रतिशत, कर्णाली प्रदेशको ०.२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६ प्रतिशत रहेको छ ।













