निजी स्वार्थको शिकार बन्दै सिइओ, शेरचनलाई हटाउन नियोजित ‘मिडिया ट्रायल’
काठमाडौँ। मुलुकमा च्याउसरी उम्रिएका वित्तीय संस्थाहरूलाई एकत्रित गरी ठूलो र बलियो बैंक बनाउनमा महत्वपूर्ण योगदान दिएका सीमित व्यक्तित्वहरूमध्ये एक हुन्- अशोक शेरचन।
उनी अहिले प्रभू बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन्। एउटा वाणिज्य बैंकको रुपमा शेरचनले प्रभूलाई ११ वर्षदेखि नेतृत्व गरिरहेका छन्।
२०७९ माघ १८ गतेबाट सुरु भएको उनको तेस्रो कार्यकाल अबको साढे १२ महिनापछि टुङ्गिँदैछ। तर सिइओ शेरचनले भएको व्यवस्थापकीय नेतृत्व नछाड्दै केही सञ्चालक समूहहरूले उनलाई हटाउने नियोजित षड्यन्त्रसहित “मिडिया ट्रायल” सुरु गरेको भनेर बैंकको उच्च व्यवस्थापकीय नेतृत्व असन्तुष्ट बनेको छ।
अशोकले यो संस्थाको नेतृत्व थालेको त दुई दशक पुग्न लाग्यो। करिब १८ वर्षअघि तत्कालीन प्रभू फाइनान्सको प्रमुख कार्यकारी अधिकृत बनेका शेरचनकै नेतृत्वमा यो संस्थाले आजसम्मको यात्रा तय गरेको हो।
त्यतिबेला विकास बैंकलाई फाइनान्स कम्पनीमा मर्ज गरेर प्रभू विकास बैंक बन्यो। त्यसपछिका सीईओ पनि शेरचन नै भए। यो संस्थामा जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किष्ट बैंक गाभिएपछि पनि बैंकको सिईओमा शेरचननै कायम रहे।
पछिल्लो पटक सेन्चुरी बैंक प्राप्ति गरेपछि शेरचनले तेस्रो कार्यकालका लागि वाणिज्य बैंकको सिइओमा निरन्तरता पाउने निर्णय भएको थियो।
तर अहिले आएर उनी सानो समस्यामा फसे। प्रभु म्यानेजमेन्ट प्रालीमा लगानी भएको २७ करोड कर्जा दुरुपयोग भएको भन्दै अशोक शेरचन गएको मङ्सिर १४ गतेदेखि पुस ११ गतेसम्म २७ दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा थिए।
प्रहरीले उक्त कारबाही अघि बढाएपछि प्रभू बैंकका केही सञ्चालकहरूले उनलाई पुनः बैंकको व्यवस्थापकीय काम कारबाहीमा फर्कन नदिन प्रयास थालेको शेरचन समर्थित उच्च व्यवस्थापकहरूको बुझाइ छ।
शेरचनको कार्यकाल पुर्याउन एक वर्षभन्दा लामो समय बाँकी छँदै र उनले पदबाट राजीनामा पनि नदिँदै केही सञ्चालक तथा प्रवर्धकहरूले नयाँ सिइओको खोजी थालेको भनेर मिडियाबाजी सुरु गरेका छन्।
एकातिर बैंकिङ कसुरमा फैसला त टाढाको कुरा, मुद्दा दायर पनि नहुँदै बैंकका उच्च व्यवस्थापकहरूलाई पक्राउ गर्ने परिपाटीको विरोध भइरहेको छ। अर्कातिर बैङ्कका केही सञ्चालक भने यही मौका छोपेर “नेतृत्व फेर्ने” प्रयासमा जुटेका छन्।
अपुष्ट चर्चा
उक्त बैंकमा यसअघि नबिल बैंक छाडेका ज्ञानेन्द्रप्रसाद ढुङ्गानादेखि एनएमबी बैंकमा दुई कार्यकाल नेतृत्व गरिसकेका सुनिल केसीसम्मको नाम अघि सारिएका छन्।
यी दुवैजना नेपाल बैंकर संघका पूर्व अध्यक्षहरू हुन्। अर्का पूर्व अध्यक्ष भुवन दाहालले भने आफू बैंकिङमा “नफर्कने” घोषणा गरिसकेका छन्। अन्यथा उनको पनि नाम चर्चामा आउन सक्थ्यो।
अवश्य पनि, धेरै संस्थाहरू गाभेको र केही संस्थाहरू समस्या ग्रस्त बाटोमा अग्रसर भएका कारण प्रभू बैंकको नेतृत्व सम्हाल्नु त्यति सजिलो काम होइन।
त्यसैले सम्भावित सिइओहरूमध्ये कतिपयले त त्यो बैंकमा जान अनिच्छा देखाइसकेका छन्। केसीले पनि केही दिनअघि अर्थपथसँगको कुराकानीमा अहिले आफू प्रभुको नेतृत्व सम्हाल्ने तयारीमा नरहेको बताएका थिए।
नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा समावेश हुन भन्दै नबिल बैंक छाडेर बसेका चार्टर एकाउन्टेन्ट ढुङ्गाना चाहिँ अहिले नेपाली कांग्रेसको एउटा खेमाद्वारा आयोजित “विशेष महाधिवेशन”मा व्यस्त छन्।
“दुई तीन दिनदेखि मलाई पनि धेरै मानिसहरूको फोन आइरहेको छ। तर बैंकका कुनै पनि सञ्चालकसँग कुराकानी भएको छैन”, ढुङ्गानाले अर्थपथसँग भने, “म अहिले महाधिवेशनमा व्यस्त छु।”
उनले यसअघि पनि एनआईसी एसिया लगायत बैंकहरूमा सिइओ खाली हुँदासमेत आफ्ना नाम जोडेर समाचारहरू प्रकाशित भएको सम्झाए। “कहीँ कतै (सिइओ पद) खाली भयो वा होला जस्तो देखियो भने पनि मेरो नाम जोडेर लेख्ने गरेका छन्। तर म अहिले त्यो दौडमा छैन”, उनले भने।
ढुङ्गानाको यस तर्कले पनि प्रभू बैंकमा भित्रिएको नयाँ सञ्चालक समितिका केही व्यक्तिहरू शेरचनको विकल्प खोज्न “आतुर” देखिएको संकेत गर्छ।
प्रस्तावित सिईओहरूसँग छलफल चाहिँ नगर्ने, तर मिडियामा समाचार लेखाएर शेरचनलाई बैंक छाड्न दबाब सिर्जना गर्ने प्रयास भएको प्रभू बैंककै कर्मचारीहरूको बुझाइ छ।
यसले बैंक तथा वित्तीय संस्थामा नेतृत्व पंक्तिमा पुग्ने व्यक्तित्वहरू मालिकका गैरन्यायिक एवं निजी स्वार्थको शिकार बन्न सक्ने जोखिम बढाएको बैंकरहरू बताउँछन्।
यदि त्यसो भयो भने विवेकशील नियमन र वित्तीय स्थायित्वमै खलल पुग्न सक्ने बैंकरको बुझाइ छ। सञ्चालकहरूले मनोमानी रूपमा ‘मिडिया ट्रायल’ गर्दा कोही व्यक्तिलाई मात्रै होइन, स्वयं बैंकको शाख र छविमाथि पनि आक्रमण हुने उनीहरुले बताए।













