५ महिनामै ४५ प्रतिशतले बढ्यो सरकारी संस्थानमा बैंकहरूको ऋण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

५ महिनामै ४५ प्रतिशतले बढ्यो सरकारी संस्थानमा बैंकहरूको ऋण



काठमाडौं । वाणिज्य बैंकहरूले सरकारी स्वामित्वमा रहेका संस्थानहरूमा गर्ने ऋण लगानीमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को ५ महिनामा मात्रै यस्तो ऋण प्रवाह ४५.७ प्रतिशतले बढेको छ ।

साउनमा वाणिज्य बैंकहरूले सरकारी संस्थानलाई कुल ५ अर्ब ७७ करोड ८५ लाख रुपैयाँ ऋण दिएकोमा मंसिर मसान्तसम्म आइपुग्दा यो रकम बढेर ८ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ पुगेको छ । 

गत आर्थिक वर्ष २०८१–८२ मा भने यस्तो कर्जा २७.८ प्रतिशतले बढेको थियो । उक्त वर्षको साउनमा ६ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ ऋण सरकारी संस्थामा गएको ५ महिनाको अवधिमा बढेर ८ अर्ब २१ करोड ११ लाख रुपैयाँ पुगेको थियो । 

मंसिर मसान्तसम्ममा ब्याजको वृद्धि बढी देखिएको छ । ५ महिनामा ब्याज ५ हजार १७७.५ प्रतिशतले ब्याज बढेको देखिएको राष्ट्र बैंकले जनाएको छ । साउनमा ७ लाख रुपैयाँ ब्याज रहेकोमा ५ महिनामा बढेर ३ करोड ४४ लाख रुपैयाँमा आएको छ । 

बैंकहरूको कुल ऋणमध्ये सबैभन्दा ठूलो हिस्सा गैर–वित्तीय संस्थानहरूमा गएको छ । गैर–वित्तीय संस्थान अन्तरत सिमेन्ट उद्योग, दुग्ध विकास संस्थान, उत्पादनमूलक सरकारी कलकारखाना, नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कृषि सामग्री कम्पनी नेपाल वायुसेवा निगम, नेपाल टेलिकम (यद्यपि यो कहिलेकाहीँ सार्वजनिक उपयोगितामा पनि पर्छ), होटल वा पर्यटनसँग सम्बन्धित सरकारी निकाय नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी संस्थान आदि पर्छन् । 

यस्तो संस्थानमा ऋण लगानी ५२.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जसमा चालु आर्थिक वर्षको साउनमा ५ अर्ब ७ करोड ८४ लाख रुपैयाँ ऋण गैर–वित्तीय क्षेत्रमा गएकोमा ५ महिनामा २ अर्ब ६४ करोड ४२ लाख रुपैयाँले बढेर ७ अर्ब ७२ करोड २५ लाख रुपैयाँ पुगेको छ । 

विशेष गरी व्यापारिक क्षेत्रमा बैंकहरूको ऋण लगानी ५९.३ प्रतिशतले बढेर ४ अर्ब ८० करोड ९१ लाख रुपैयाँ पुगेको छ । सेवा क्षेत्रमा ५३.३ प्रतिशतले बढेर ९९ अर्ब ९१ करोड रुपैयाँ र अन्य संस्थानहरुमा ४१.९ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ पुगेको छ । 

उद्योगको क्षेत्रमा भने यस्तो ऋण घटेको राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ । जहाँ चालु आर्थिक वर्षको साउनमा २४ करोड ९४ लाख रुपैयाँ वाणिज्य बैंकहरुले सरकारी उद्योगको ऋण लगानी भएकोमा ५ महिनामा १ प्रतिशतले घटेर २४ अर्ब ६८ करोड रुपैयाँमा आएको छ । 

गैर–वित्तीय क्षेत्रमा ऋणको माग बढिरहँदा वित्तीय क्षेत्रका सरकारी संस्थानहरूको ऋण भने स्थिर जस्तै देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार वित्तीय क्षेत्रको ऋणमा ०.७ प्रतिशतको सामान्य गिरावट आएको छ ।

वित्तीय क्षेत्रको ऋण साउनमा ७० करोड १ लाख रुपैयाँ हुँदा ५ महिनामा ४६ करोड रुपैयाँले घटेर ६९ करोड ५५ लाख रुपैयाँमा आएको छ । जसमा साँवा ०.९ प्रतिशतले घटेको छ भने ब्याज ५ हजार ९०० प्रतिशतले बढेको छ । 


प्रतिक्रिया दिनुहोस्