थाइल्याण्डमा गुडिरहेको हाई-स्पीड ट्रेनमाथि क्रेन खस्दा २२ जनाको मृत्यु, ८० जना घाइते
एजेन्सी । उत्तर-पूर्वी थाइल्याण्डमा एउटा यात्रुबाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन्।
यो दुर्घटना बुधबार बैंककबाट २३० किलोमिटर (१४३ माइल) उत्तर-पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। उक्त रेल थाइल्याण्डको राजधानीबाट उबोन रत्चाथानी प्रान्ततर्फ गइरहेको थियो।
थाइल्याण्डका यातायात मन्त्री पिफट रत्चाकितप्राकानले एक विज्ञप्ति जारी गर्दै रेलमा १९५ जना यात्रु सवार रहेको र घटनाको अनुसन्धान गर्न आदेश दिएको बएता।
उच्च गतिको रेल मार्ग निर्माण भइरहेको स्थलमुनिबाट रेल गुडिरहेको बेला माथि काम गरिरहेको क्रेन खसेको थियो।क्रेनले ठक्कर दिएका तीनवटा डब्बामध्ये दुईवटामा रहेका यात्रुहरूको मृत्यु भएको हाे।
प्रहरीका अनुसार आगो निभाइएको छ र अहिले उद्धार कार्य जारी छ। उद्धारकर्ताहरूले अझै पनि क्षतिग्रस्त रेलको डब्बाबाट शवहरू निकालिरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।













