७ श्रावण २०८३, बिहिबार

नेपाल लगायत ७५ देशका नागरिकलाई अमेरिकाको आप्रवासी भिसामा प्रतिबन्ध



काठमाडाैं । अमेरकाले नेपाल लगायत ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चित कालका लागि निलम्बन गरेको छ

अमेरिकी विदेश मन्त्रालयले आगामी २१ जनवरीदेखि लागू हुने गरी अमेरिकाकाे स्थायी बसाेबास अनुमति ग्रिनकार्ड लिन पर्खिएका पर्खिएका नेपालसहित ७५ देशका नागरिकले तत्काल भिसा नदिने निर्णय गरेकाे हाे ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अध्यागमनमा कडाइ गर्ने नीतिलाई निरन्तरता दिँदै यो कदम चालेको हो ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै जुन देशका आप्रवासीहरूले अमेरिकी जनताबाट अस्वीकार्य दरमा सामाजिक कल्याण (वेलफेयर) सुविधा लिइरहेका छन्, ती देशका लागि भिसा प्रक्रिया स्थगित गरिएको जनाएको छ । नयाँ आप्रवासीहरूले अमेरिकी सम्पत्तिको दोहन गर्दैनन् भन्ने सुनिश्चित नभएसम्म यो रोक कायम रहने मन्त्रालयको भनाइ छ ।

यस निर्णयबाट प्रभावित हुने ७५ देशहरूको सूचीमा नेपालसहित अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुवा र बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, बर्मा, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कोटे डी आइभोरी, क्युबा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हाइटी, इरान, इराक, जमैका, जोर्डन, कजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, निकारागुआ, नाइजेरिया, पाकिस्तान, गणतन्त्र कङ्गो, रुस, रुवाण्डा, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिन्स, सेनेगल, सिएरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्वेकिस्तान र यमन रहेका छन्।

सन् २०२५ जनवरीमा पुनः कार्यभार सम्हालेदेखि नै ट्रम्पले कडा अध्यागमन विरोधी एजेन्डा अघि सारेका छन् । उनले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला अभियान चलाउने वाचा गरेका थिए । विगत एक वर्षमा ट्रम्प प्रशासनले विभिन्न भिसा कार्यक्रमहरूमा कटौती गर्नुका साथै शरणार्थी स्वीकार गर्ने संख्यामा समेत भारी गिरावट ल्याएको छ । साथै, अवैध रूपमा बसिरहेकाहरूलाई पक्राउ गरी देशनिकाला गर्न प्रमुख सहरहरूमा सशस्त्र अध्यागमन अधिकारीहरू परिचालन गरिएको छ ।

विगत एक वर्षमा ट्रम्प प्रशासनले १ लाखभन्दा बढी भिसा रद्द गरिसकेको छ, जुन एक वर्षको अवधिमा भएको अहिलेसम्मकै उच्च रेकर्ड हो । होमल्याण्ड सेक्युरिटी विभागका अनुसार ट्रम्प प्रशासनले ६ लाख ५ हजारभन्दा बढी मानिसलाई देशनिकाला गरिसकेको छ भने २५ लाखभन्दा बढी मानिस आफैँले अमेरिका छोडेका छन् । यद्यपि, विदेश मन्त्रालयले बुधबार प्रतिबन्ध लगाइएका सबै ७५ देशको पूर्ण सूची भने सार्वजनिक गरिसकेको छैन ।


प्रतिक्रिया दिनुहोस्