नेपाली पूँजी बजारको मेरुदण्ड बन्दै जलविद्युत् क्षेत्रः २७ लाख लगानीकर्ता मार्फत ४१ अर्ब ६५ करोड पूँजी संकलन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाली पूँजी बजारको मेरुदण्ड बन्दै जलविद्युत् क्षेत्रः २७ लाख लगानीकर्ता मार्फत ४१ अर्ब ६५ करोड पूँजी संकलन



काठमाडाैं । नेपालको पूँजी बजारमा जलविद्युत् क्षेत्रको वर्चस्व दिनप्रतिदिन बढ्दै गएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन अनुसार, नेपालका करिब २७ लाख सर्वसाधारण लगानीकर्ताहरू प्रत्यक्ष रूपमा जलविद्युत् कम्पनीहरूको सेयरमा जोडिएका छन्।

हालसम्म ९३ वटा जलविद्युत् कम्पनीहरूले प्राथमिक सेयर निष्कासन (आइपीओ) मार्फत कुल ४१ अर्ब ६५ करोड रुपैयाँ पूँजी संकलन गरिसकेका छन्।

प्रतिवेदन अनुसार, नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सूचीकृत कम्पनीहरूमध्ये जलविद्युत् समूह सबैभन्दा ठूलो समूहका रूपमा देखिएकाे छ। हालसम्म ९१ वटा जलविद्युत् कम्पनीहरू नेप्सेमा सूचीकृत भई नियमित कारोबारमा छन्। सूचीकृत कम्पनीहरूको चुक्ता पूँजी मात्रै १ खर्ब ४२ अर्ब रुपैयाँ पुगिसकेको छ।

सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत सेयर र आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयरको अनिवार्य व्यवस्थाले गर्दा जलविद्युत् आयोजनाहरूमा आम नागरिकको अपनत्व र आर्थिक सहभागीता बढेको अनुसन्धानले पुष्टि गरेको छ।

लगानीको दृष्टिकोणले हेर्दा, जलविद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको पनि ठूलो हिस्सा रहेको छ। फेब्रुअरी २०२५ सम्मको तथ्याङ्क अनुसार बैंकहरूले कुल ४ खर्ब २ अर्ब रुपैयाँ ऋण जलविद्युत् आयोजनाहरूमा प्रवाह गरेका छन्।

यद्यपि, प्रतिवेदनले केही चुनौतीहरूलाई पनि उजागर गरेको छ। विशेषगरी, आयोजना निर्माणको प्रारम्भिक चरणमा बैंकहरूबाट ऋण प्राप्त गर्न कठिन हुने र स्थानीय स्तरमा सेयर वितरण गर्दा प्रक्रियागत जटिलताहरू हुने गरेका छन्।

साथै, सेयर बजारमा कम्पनीहरूको संख्या बढेसँगै लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था र प्रतिफलको सुनिश्चितता हेरेर मात्र लगानी गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्।

सरकारले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको सन्दर्भमा पूँजी बजारबाट थप लगानी जुटाउनु आवश्यक देखिएको छ। प्रतिवेदनले जलविद्युत् क्षेत्रलाई अझ पारदर्शी बनाउन, हकप्रद सेयरको सही सदुपयोग गर्न र ऋण–स्वपुँजी अनुपातलाई सन्तुलनमा राख्न नियमनकारी निकायहरूलाई सुझाव दिएको छ।


प्रतिक्रिया दिनुहोस्