पूर्व अर्थमन्त्रीहरु को कहाँबाट उठ्दै छन् चुनाव ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्व अर्थमन्त्रीहरु को कहाँबाट उठ्दै छन् चुनाव ?



काठमाडौं । कयौँ अन्योल र अनिश्चितताका बीच पनि अब निर्धारित मिति (फागुन २१)मा हुने चुनावको तयारी व्यग्र रुपमा अघि बढेको छ । यससँगै नेपाल सरकारका केही पूर्व अर्थमन्त्रीहरु कहाकहाँबाट चुनावी मैदानमा भिड्दैछन् भन्ने हेर्न मज्जा आउँछ ।

यस पल्ट केही पूर्व अर्थमन्त्रीहरु चुनावी मैदानमा छैनन भने केहीले उमेदवारी दर्ता गराएका छन् ।

विघटित प्रतिनिधी सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोट क्षेत्रनम्बर १ बाट निर्वाचन लड्दैछन् । विगतमा लामो समय उनका सहोदर दाजु डा. रामशरण महत यस क्षेत्रबाट प्रतिनिधी चुनिँदै आएका थिए । गत संसदीय निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको चुनावी तालमेलका आधारमा यस क्षेत्रबाट हितबहादुर तामाङ विजयी भएका थिए ।

कांग्रेसका अर्का नेता ज्ञानेन्द्रबहादुर कार्कीले यसपालि सुनसरी–४ बाट निर्वाचन लड्दैछन् । सुनसरी–४ मा यसअघि वाम गठबन्धनलाई हराउँदै उनी विजयी भएका थिए । सोही क्षेत्रमा कार्कीलाई कांग्रेसले पुन: टिकट पाएका हुन् ।

तत्कालिन संसदको दोस्रो ठूलो दल एवम् जेनजी आन्दोलनका दौरान केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थमन्त्री रहेका एमाले नेता पटक–पटक अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेल यसपालि रुपन्देही २ बाट निर्वाचनमा होमिँदैछन् । यसअघि उनी पाल्पाबाट चुनाव उठ्ने तयारी गरेका थिए । तर आफ्ना कार्यकर्ताप्रति चरम विभेद गरेको भनेर चर्को आलोचना भएपछि एमालेले निर्णय बदलेर उनलाई रुपन्देहीबाटै उठाउने भएको छ।

एमाले उपाध्यक्ष पौडेलले २०५६ सालदेखि नै यही क्षेत्रबाट चुनाव भिड्न थालेका थिए। सबै मन्त्रालयमा गरी कुल ८ पटक मन्त्री बनेका पौडेल पटक पटक अर्थ मन्त्रालयको नेतृत्वमा पुगिसकेका उनी यसअघि पनि त्यही क्षेत्रको सांसद थिए ।

अर्थमन्त्रीबाट प्रधानमन्त्रीमा बढुवा हुन सफल एकमात्र पात्र डा. बाबुराम भट्टराई अब पुन: चुनावी राजनीतिमा होमिएका छन् । गत जेनजी आन्दोलनपछि ‘राजनीतिबाट अवकाश लिएको’ घोषणा गरेका भट्टराई अब गोरखा क्षेत्रनम्बर २ बाट निर्वाचन लड्न लागेका हुन् । भर्खरै मात्र माओबादी केन्द्र छाडेर जनार्दन शर्माको अग्रसरतामा गठन भएको दल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उनी निर्वाचनमा होमिएका हुन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट जितेका पुष्पकमल दाहाल अहिले गोरखा छाडेर सशस्त्र विद्रोहको किल्ला खोज्दै गएपछि बाबुरामलाई यहाँबाट चुनाव लड्ने मौका जुरेको हो । उता बाबुरामका साझेदार जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवारी दिने तयारीमा छन् । प्रचण्ड नेतृत्वको माओबादीले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकीकरण गरेपछि अलग भएका उनले प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका छन् ।

शर्मा यसअघि पनि त्यही क्षेत्रबाट चुनाव जितेर आएका थिए । रुकम पश्चिममा यो पल्ट पनि चुनाव जिते भने उनी त्यहाँका जनताको तर्फबाट संसदमा पाँचौँ पल्ट प्रतिनिधित्व गर्ने सांसद बन्ने छन् ।

पुष्पकमल दाहाल नेतृत्पको नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन पनि दुई पल्ट अर्थमन्त्री भइसकेका पात्र हुन् । माओबादी पार्टीमा तत्कालिन अध्यक्ष दाहालको उत्तराधिकारी विवाद हुँदा जनार्दन शर्माको प्रतिद्वन्द्वीका रुपमा पुन नै खडा भएका थिए । तर अब शर्मालाई पार्टीबाटै हटाउन सफल भएपछि उनी पक्का रुपमा प्रचण्डको उत्तराधिकारी बन्ने संभावना बढेको छ ।

उनै पुन रोल्पामा निर्वाचन लड्दैछन् । उनी तेस्रो पटक रोल्पाबाट उम्मेदवार बनेका हुन् । यसअघि उनी त्यही क्षेत्रबाट २०७४ र २०७९ सालको चुनावमा विजयी भएका थिए ।

जो चुनावभन्दा बाहिरै रहे

अहिले जिवित पूर्वअर्थमन्त्रीहरुमा सबैभन्दा धेरै सम्झने नाम हो— डा. रामशरण महत । कांग्रेसका वरिष्ठ नेता महत अहिले स्वास्थ्यका कारण सक्रीय राजनीतिभन्दा बाहिर देखिएका छन् । यसअघि उनी उठ्ने गरेको नुवाकोटको निर्वाचन क्षेत्रमा उनका भाइ तथा अर्का पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले टिकट उमेदवारी दर्ता गरेका छन् ।

अर्का कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्य पनि यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् । उता, एमालेको महासचिवमा प्रतिष्पर्धा गरेका पूर्वउपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पनि चुनावी मैदान बाहिर छन् । उनलाई दलले टिकट नदिएको भनिएको छ । यसअघि उनी र नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल एकसाथ चितवन १ बाट पराजित भएका थिए ।

केन्द्रिय बैंक, राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयजस्ता आर्थिक क्षेत्रका तीनवटै शीर्ष निकायको नेतृत्व गरिसकेका र अमेरिकाका लागि नेपाली राजदूतसमेत रहेका डा. युवराज खतिवडा पनि चुनावी प्रतिस्पर्धामा छैनन् । त्यसो त उनी कहिल्यै पनि चुनावी राजनीतिमा देखिएका पात्र होइनन् । उनी केन्द्रिय बैंकको जागिरबाट आएका हुन् र एक प्राज्ञिक अर्थशास्त्री हुन् ।

कांग्रेसका रामशरण महत र एमालेका भरतमोहन अधिकारीको धुरन्धर प्रतिस्पर्धी रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी अर्को ‘हेभि वेट अर्थमन्त्री’ हुन् । उनी पनि टिकट नपाएपछि अहिले चुनावमा प्रतिस्पर्धामा छैनन् । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री कृष्णबहादुर महरा पनि यस पटक चुनावी प्रतिस्पर्धामा देखिएका छैनन् । उनीमाथि विभिन्न आरोप लागेपछि पार्टीले उनलाई चुनावी मैदानमा नउतार्ने निर्णय गरेको छ ।

यसबाहेक गैह्रदलीय सरकारहरुमा दुई जना अर्थमन्त्री बनेका छन् । २०७० को संविधानसभा निर्वाचन गराउने चुनावी सरकारका अर्थमन्त्री शंकरप्रसाद कोइराला अहिले जेनजी आन्दोलनपछिको चुनावी सरकारका अर्थमन्त्री रामेश्वर खनाल । यी दुबै जना नेपाल सरकारका पूर्व सचिव हुन् । अहिले यी दुबै जना चुनावी प्रतिस्पर्धामा छैनन् ।

वर्तमान चुनावी सरकारका मन्त्रीहरु पनि भटाभट राजिनामा दिँदै चुनावमा होमिएका बेलामा अर्थमन्त्री रामेश्वर खनाल भने अब आफू सक्रीय राजनीति नगर्ने भनेर बसेका छन् । अर्थ सचिवबाट राजीनामा दिएपछि राष्ट्र बैंकको गभर्नर बन्ने दाउमा नेपाली कांग्रेस प्रवेश गरेका खनालले अपेक्षा गरेजस्तो पद पाउन सकेनन् । त्यसपछि माओबादी छाडेर चोइटिएका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी गठन भएपछि खनाल त्यहीँ पुगेका थिए ।

तर यो दल पनि राजनीतिक मोर्चामा ‘बालुवाको पानी’ जसरी विलाएपछि खनाल सक्रीय राजनीतिमा छैनन् ।


प्रतिक्रिया दिनुहोस्