अमेरिकामा भीषण हिमआँधीको कहर: १८ राज्यमा संकटकाल घोषणा, ८३०० भन्दा बढी उडान रद्द - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकामा भीषण हिमआँधीको कहर: १८ राज्यमा संकटकाल घोषणा, ८३०० भन्दा बढी उडान रद्द



काठमाडाैं । अमेरिकाको न्यु मेक्सिकोदेखि मेनसम्म फैलिएको विशाल र शक्तिशाली हिमआँधीका कारण हवाई यातायात नराम्ररी प्रभावित भएको छ। आँधी शुक्रबार दिउँसोदेखि न्यु मेक्सिको र टेक्ससबाट सुरु भएको थियाे ।

आँधीको जोखिमलाई मध्यनजर गर्दै आइतबारसम्मका लागि ८,३०० भन्दा बढी उडानहरू रद्द गरिएको छ। शुक्रबार मात्रै ६४० भन्दा बढी उडान रद्द भएका थिए भने शनिबार ३,१०० र आइतबार ४,६०० भन्दा बढी उडानहरू रद्द हुने प्रक्षेपण गरिएको छ। यसमध्ये डलासका दुईवटा विमानस्थलहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

यो भीषण आँधीका कारण १८ करोडभन्दा बढी मानिस उच्च सतर्कतामा रहेका छन्। न्युयोर्क, टेक्सस र मेरिल्याण्डसहित कम्तीमा १८ वटा राज्य र राजधानी वासिङ्टन डीसीमा संकटकाल घोषणा गरिएको छ।

आँधीले ल्याउने खतरनाक बरफ र हिउँका कारण जनजीवन अस्तव्यस्त हुने देखिएपछि वासिङ्टन डीसी क्षेत्रका सबै संघीय कार्यालयहरू आगामी सोमबारका लागि बन्द गर्ने निर्णय गरिएको छ।

मौसमविद्हरूका अनुसार यो आँधीले दक्षिणी राज्यहरूमा खतरनाक रूपमा बरफ जमाउने छ, जसले गर्दा सडकहरू दिनौंसम्म ठप्प हुन सक्छन्। मेम्फिस र टेक्ससका केही भागमा १ इन्च वा सोभन्दा बढी बरफ जम्न सक्ने अनुमान छ, जसका कारण विद्युत आपूर्ति बन्द हुने र यात्रा अत्यन्तै जोखिमपूर्ण हुने चेतावनी दिइएको छ।

हिउँको सन्दर्भमा न्युयोर्क सहरमा ८ देखि १२ इन्चसम्म हिउँ पर्न सक्ने पछिल्लो पूर्वानुमान छ। न्यु मेक्सिकोदेखि ओहायो भ्यालीसम्मका ठूला क्षेत्रमा ३ देखि ६ इन्चसम्म हिउँ जम्ने देखिएको छ। भारी हिमपात र बरफका कारण हुन सक्ने दुर्घटनाबाट बच्न अधिकारीहरूले नागरिकहरूलाई विशेष सावधानी अपनाउन र अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्