५३.९५ प्रतिशतले बढ्याे सांग्रिला डेभलपमेन्ट बैंककाे नाफा, कस्ता छन् अन्य सूचक ?
काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंककाे नाफा ५३.९५ प्रतिशतले बढेको छ।
आज प्रकाशित गरेकाे चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासकाे अपरिष्कृत वित्तीय विवरण अनुसार साउनदेखि पुससम्मकाे अवधिमा बैंकले ३० करोड २५ लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षकाे यस अवधिमा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
साउनदेखि पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा ६९.३३ प्रतिशत बढेको छ। समीक्षा अवधिसम्म बैंकले ४५ करोड १३ लाख १३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।
चालु वर्षको पहिलो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १८.४९ प्रतिशतले बढेकाे छ। यस अवधिमा बैंकले १ अर्ब ८ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ९१ करोड ८२ लाख रुपैयाँ थियो।
पुससम्म बैंकको वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ। यस हिसाबले दोस्रो त्रैमाससम्म बैंकले ५.०७ प्रतिशत लाभांश क्षमता बनाएको छ।
समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६.२१ रुपैयाँ कायम भएको छ भने बैंकको पीई रेसियो २४.७८ गुणा र प्रतिशेयर नेटवर्थ १५३.२४ रुपैयाँ रहेको छ।
समिक्षा अवधिमा बैंककाे चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ९ करोड ४६ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ रहेको छ।
यस्तै पुससम्म बैंकले ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।













