राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्यो कांग्रेस
काठमाडौँ । कहिले एमाले र कहिले कांग्रेससँग मिलेर संसदको माथिल्लो सदन राष्ट्रिय सभामा आफ्ना प्रतिनिधीको संख्या ह्वात्तै बढाएका पुष्पकमल दाहाल नेतृत्वको माओबादी (हालको नेपाली कम्युनिस्ट पार्टी) का २५ मध्ये ८ जना सांसद् आगामी फागुन २० मा बिदा हुँदैछन् ।
आइतबार भएको निर्वाचनमा यो पार्टीका उम्मेदवारले कतै पनि जितेनन् । अब राष्ट्रिय सभामा नेकपाको सांसद संख्या १७ जनामा सीमित हुनेछ ।
किनकी, कांग्रेसको नेतृत्वमा आएको आकस्मिक फेरबदलका बाबजुद पनि यो चुनावमा भने तीन दलीय गठबन्धनले सफलतापूर्वक काम गरेको छ । यसले विघटित प्रतिनिधी सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रिय सभामा ‘ठूलो दल’का रुपमा स्थापित गरेको देखिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेका थिए । यो चुनावी परिणामले उक्त तालमेललाई राम्रैसँग अनुमोदन भएको छ । कुल १८ जना सांसद पदका लागि भएको निर्वाचनमा दलीय भागबण्डाकै आधारमा उम्मेदवारहरू विजयी भएका छन् ।
कांग्रेसबाट ९ र एमालेबाट ८ जना सांसद निर्वाचित भएका छन् । लोसपाका उम्मेदवार महन्थ ठाकुर पनि राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन् । यो परिणाम आएसँगै राष्ट्रिय सभाभित्रको दलीय समीकरण बदलिएको छ ।
जम्मा ५९ सदस्यीय राष्ट्रिय सभामा अहिले कांग्रेसका १६ जना सांसद छन् । आइतबार निर्वाचित भएकाहरू थपिएसँगै राष्ट्रिय सभामा कांग्रेका सांसद संख्या २५ पुगेको छ । यसरी कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको छ ।
तर अझै पनि दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टी नै रहने छ । यसअघि नेकपा माओवादीका १७ जना र नेकपा एकीकृत समाजवादीका ८ जना मिलेपछि यसअघि नेकपाको २५ सांसद बोकेर राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको थियो ।
तेस्रो शक्तिका रुपमा फेरि पनि नेकपा एमाले रहनेछ । अहिले राष्ट्रिय सभामा एमालेका १० जना सांसद् छन् । त्यसमध्ये ८ जना आगामी फागुन २० मा बिदा हुँदैछन् । आइतबार भएको निर्वाचनबाट ८ जना नै निर्वाचित भएकाले उसको हैसियत यथावत रहनेछ ।
आसन्न प्रतिनिधी सभा निर्वाचनको अघिल्लो दिन नै लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका १–१ जना सांसद बिदा हुँदैछन् । यस पल्ट लोसपाको तर्फबाट एक जना निर्वाचित भएपछि उसको प्रतिनिधित्व अनवरत रहने भएको छ ।
कसरी छानिन्छ सांसद ?
राष्ट्रिय सभा निर्वाचनमा नागरिकले सिधै मतदान गर्न पाउँदैनन्। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यले मतदान गर्छन् । त्यो भनेको सातै प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका १ हजार ५०६ प्रमुख तथा उपप्रमुख मतदाता थिए ।
यद्यपि, उनीहरूको मतभार भने फरक–फरक हुन्छ । कुल जनसंख्यालाई प्रदेश सभाका कुल सदस्यले भाग गरेर प्रदेश सभाको मतभार लिइन्छ । त्यसलाई पुन: एक हजारले भाग गर्दा आउने भागफल एक प्रदेश सांसदको मतभार हुन्छ । त्यसरी नै स्थानीय तहका पदाधिकारीको पनि मतभार निकालिएको छ ।
आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आइतबारको निर्वाचनबाट निर्वाचित सांसदहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु हुनेछ ।
राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । एक तिहाइ सदस्यको निर्वाचन प्रत्येक दुई/दुई वर्षमा हुन्छ । त्यसैले अब अर्को निर्वाचन २०८४ जेठमा हुने छ । असारदेखि नयाँ सांसदहरुले पदभार सम्हाल्ने छन् । तर त्यस बेला कम्तिमा पनि स्थानीय तहमा नयाँ निर्वाचन भएर जनप्रतिनिधीहरु आउने छन् । त्यसैले २०८४ को चुनावी परिणाम अहिलेभन्दा भिन्न हुनसक्ने अड्कल गरिएको छ ।













