आगामी चुनावमा १६५ क्षेत्रमै भिड्ने एकमात्र दल बन्यो कांग्रेस, कुन पार्टीका कति उमेदवार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आगामी चुनावमा १६५ क्षेत्रमै भिड्ने एकमात्र दल बन्यो कांग्रेस, कुन पार्टीका कति उमेदवार ?



काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष (सर्वाधिक भोट पाउनेले जित्ने) प्रणलीतर्फ १६५ वटै स्थानमा उमेदवारी दिने एकमात्र पार्टी नेपाली कांग्रेस बनेको छ ।

हालैमात्र निर्वाचन आयोगले सार्वजनिक गरेको उमेदवारी मनोनयनसम्बन्धी विवरणमा देशभरका १६५ वटै निर्वाचन क्षेत्रबाट एकमात्र दलले उमेदवारी मनोनयन गरेको उल्लेख छ । भलै, देशभर ६६ वटा राजनीतिक दलले आफ्ना उमेदवारहरु चुनावी मैदानमा उतारेका छन् ।

यस पालिको चुनावमा पनि दलभन्दा बाहिरबाट समेत सांसद बन्ने आकांक्षामा ११४३ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् । ८ वटा पार्टीले त एक–एक जना उमेदवार मात्र उठाएका छन् ।

दलगत रुपमा प्रत्यक्ष निर्वाचनमा नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समान १६४ जनाका दरले उमेदवार उठाएका छन् । यी तीनवटै दलले केवल एक–एक निर्वाचन क्षेत्र खालि राखेका छन् ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६५ मध्ये १६३ सीटमा उमेदवारी खर्ता गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले १३० जना, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले १२० जना, मंगोल नेशनल अर्गनाइजेसनले ११३ जना, श्रम संस्कृति पार्टीले १०९ जन र उज्याले नेपाल पार्टीले १०५ जनालाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ ।

त्यसैगरी आम जनता पार्टी (एकल चुनाव चिह्न)ले ९८ जना, जनता समाजवादी पार्टी नेपालले ९४ जना, प्रगतिशील लोकतान्त्रिक पार्टीले ८२जना, राष्ट्रिय जनमोर्चाले ७० जना र जनमत पार्टीले ६१ जनालाई चुनावी मैदानमा खडा गरेको छ ।

सार्वजनिक बहसमा खासै नाम नसुनिएका दलले पनि ठूलो संख्यामा उमेदवार उतारेका छन् । नेशनल रिपब्लिक नेपालले ४६ जना, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले ३५ जना, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) ले ३३ जना, मितेरी पार्टी नेपालले २९ जना, नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) ले २४ जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २३ जना उमेदवारहरुलाई चुनावी रणभूमिमा उतार्ने भएको छ ।

यस्ता दलहरु अरु पनि छन् । जस्तै, संयुक्त नागरिक पार्टीले २१ जना, नेपाल जनता पार्टीले २० जना, जनता समाजवादी पार्टी (एकल चुनाव चिह्न) ले १९ जना, नेपाल जनमुक्ति पार्टीले १८ जना, राष्ट्रिय जनमुक्ति पार्टीले १७ जना, राष्ट्रिय परिवर्तन पार्टीले १७ जना र जय मातृभूमि पार्टीले १४ जनालाई उमेदवार बनाएको निर्वाचन आयोगको विवरणमा देखिन्छ ।

यसै गरी राष्ट्र निर्माण दल नेपालले १३ जना, नेपालका लागि नेपाली पार्टीले १० जना, नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिह्न)ले ८ जना, नेपाल जनसेवा पार्टीले ७ जना, बहुजन एकता पार्टी नेपाल (एकल चुनाव चिह्न)ले ७ जना उमेदवार खडा गरेका छन् ।

त्यस्तै जनअधिकार पार्टी, नेपाल मानवतावादी पार्टी, समावेशी समाजवादी पार्टी र सार्वभौम नागरिक पार्टीले समान ६ जना उमेदवार मैदानमा अघि सारेका छन् । नेपाल लोकतान्त्रिक पार्टी, नेपाली जनता दल र राष्ट्रिय एकता दलले समान ५ जना उमेदवारको मनोनयन गराएका छन् ।

जनता लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र जनादेश पार्टी नेपाल (एकल चुनाव चिह्न) ले पनि समान ४ जनाका दरले उमेदवार उठाएका छन् । गतिशील लोकतान्त्रिक पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल (एकल चुनाव चिह्न), त्रिमूल नेपाल, नेपाल जनता संरक्षण पार्टी, पिपुल्स फस्ट पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, बहुजन शक्ति पार्टी, राष्ट्रिय उर्जाशील पार्टी नेपाल र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले पनि समान ३ जनाका दरले उमेदवार उतारेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा दुई/दुई स्थानमा उमेदवार उठाउने दलको सूचीमा नेपाली जनश्रमदान संस्कृति पार्टी, युनाइटेड नेपाल डिमोक्र्याटीक पार्टी, समावेशी समाजवादी पार्टी नेपाल र स्वाभिमान पार्टी छन् ।

ऐतिहासिक जनता पार्टी, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी), नेपाल मातृभूमि पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय सद्भावना पार्टी र राष्ट्रिय साझा पार्टीले एक/एक स्थानमा उमेदवार खडा गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्