दूतमार्गमा निरीक्षणमा पुगिन् प्रधानमन्त्री कार्की, भौतिक प्रगति ४५ प्रतिशत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दूतमार्गमा निरीक्षणमा पुगिन् प्रधानमन्त्री कार्की, भौतिक प्रगति ४५ प्रतिशत



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की दूतमार्गमा निरीक्षणमा पुगेकी छिन् । त्यहाँ पुगेर कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुनेमा जोड दिएकी छिन् ।

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश दू्रतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदल, कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिइन् ।

प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्री, विभिन्न मन्त्रालयका सचिवलगायत थिए ।

कुल ७०.९७७ किमी लम्बाइको उक्त आयोजनाको भौतिक प्रगति हाल करिव ४५ प्रतिशतको हाराहारीमा पुगेको छ । द्रूतमार्गअन्र्तगत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्ने छ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति विसं २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ ।

यो काठमाडौँ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुने छ । निर्माणपछि तराईबाट काठमाडौँमा ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा मुलुकको आर्थिक विकासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाअन्तर्गतका सात वटा सुरुङ छन । सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको सेनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्