कृषि विकास बैंककाे खुद ब्याज आम्दानी १० अर्ब माथि, नाफा भने खुम्चियाे, कस्ता छन् अन्य सूचक ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कृषि विकास बैंककाे खुद ब्याज आम्दानी १० अर्ब माथि, नाफा भने खुम्चियाे, कस्ता छन् अन्य सूचक ?



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधि (पुस मसान्त) सम्ममा बैंकको खुद नाफामा गत वर्षको सोही अवधिको तुलनामा केही गिरावट देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले ७० करोड ७४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसरी तुलनात्मक रूपमा बैंकको नाफा २६.१२ प्रतिशतले घटेको देखिन्छ।

बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी भने ६.०४ प्रतिशतले बढेर १० अर्ब ४६ करोड ५ लाख २५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ अर्ब ८६ करोड ४३ लाख ४७ हजार रुपैयाँ रहेको थियो।

यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी पनि ८.५१ प्रतिशतले वृद्धि भई ७७ करोड ७५ लाख ७६ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ११ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ रहेको छ।

सञ्चालन मुनाफामा भने बैंकको संकुचन देखिएको छ। गत वर्ष १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष १ अर्ब ९ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ, जुन १८.९३ प्रतिशतको गिरावट हो।

बैंकको खराब कर्जा भने केही घटेर ३.९० प्रतिशतमा झरेको छ, जुन गत वर्ष ४.९० प्रतिशत थियो। बैंकको वितरणयोग्य मुनाफा ७१ करोड ९६ लाख ७८ हजार ६२८ रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म बैंकको चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख ३१ हजार रुपैयाँ रहेको छ। नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ११.४७ रुपैयाँबाट घटेर ९.८९ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ३७ पैसा रहेको छ।

व्यवसाय विस्तारतर्फ बैंकले ३ खर्ब २३ अर्ब ४४ करोड ४६ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ करोड ८७ लाख ३२ लाख ६२ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।


प्रतिक्रिया दिनुहोस्