अधिकांश बैंकको वितरणयोग्य नाफा घट्यो, नौ बैंकको ऋणात्मक
काठमाडौँ । चालू आर्थिक वर्षको दोस्रो त्रयमास अर्थात् पुस मसान्तसम्म अधिकांश वाणिज्य बैंकले पोहोरको जति पनि वितरणयोग्य मुनाफा कमाउन नसकेको देखिएको छ । कुल २० मध्ये १४ बैंकको यस्तो नाफा गत सालको पुस मसान्तसम्म आर्जित नाफाभन्दा कम देखिएको छ ।
पोहोरको तुलनामा यो साल कुमारी, नबिल, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, एभरेष्ट र माछापुच्छ्रे बैंकले मात्रै वितरण योग्य नाफा बढाउन सफल भएका छन् । यति गर्दा पनि राष्ट्रिय वाणिज्य र कुमारी बैंकको वितरणयोग्य नाफा अझै ऋणात्मक नै छ । यसको मतलव बाँकी चार बैंकले मात्रै आफ्ना सेयरधनीलाई समेत राहत दिने गरी नाफामा बढोत्तरी देखाउन सकेका छन् ।
गत साल केवल ७ बैंकको नाफा ऋणात्मक देखिएको थियो भसिटिने यो साल ९ बैंकको नाफा ऋणात्मक भएको छ । यसपालि ऋणात्मक सूचीमा थपिनेमा सिटीजन बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंक छन् । सिद्धार्थ बैंकले भने पोहोरको ऋणात्मक हालतलाई चिर्दै अब धनात्मक विन्दुमा प्रवेश गरेको छ ।
यो साल सर्वाधिक नाफा बढाउने संस्थाको रुपमा कुमारी बैंक देखिएको छ । उसको वितरणयोग्य नाफा पोहोर पुससम्म करीब साढे ६ अर्ब रुपैयाँ ऋणात्मक थियो भने यस पालिसम्म आउँदा त्यसलाई आधाभन्दा धेरै घटाएर ३ अर्बमा झारेको छ । अब वितरण नै गर्न मिल्नेगरी ३ अर्बभन्दा ज्यादा नाफा यो बैंकले थप्न सक्यो भने मात्रै सेयरधनीले लाभांशमा ‘दाउ हेर्ने’ ठाउँ पाउने छन् ।
उता श्रेष्ठतम प्रदर्शन गरिरहेको संस्था नबिल बैंकले पोहोरको १ अर्ब ९० करोड वितरणयोग्य नाफा कमाएकोमा यो साल झण्डै दोब्बर बनाएर ३ अर्ब २७ करोड पुर्याएको छ । फेरि पनि नबिल नै सर्वाधिक नाफा कमाउने बैंक चाहीँ होइन । उसको भन्दा ज्यादै कम पूँजी लिएर चलेको एभरेष्ट बैंकले ३ अर्ब ३४ करोडभन्दा बढी वितरणयोग्य नाफा कमाएर ‘नम्बर वान’ बनेको छ ।
गत सालको पुसमा पनि सर्वाधिक वितरणयोग्य नाफा कमाउने संस्था एभरेष्ट नै थियो । यस आधारमा एभरेष्टले आफ्नो ‘विनर पोजिशन’ जोगाउन सफल भएको छ । तर पोहोर दोस्रो स्थानमा रहेको ग्लोबल आईएमईलाई यसपालि नबिलले उछिनेपछि अब ऊ तेस्रो स्थानमा झरेको छ । ग्लोबलले २ अर्ब ४२ करोडभन्दाधेरै वितरणयोग्य नाफा आर्जन गरेको छ ।
सानिमा र नेपाल एसबीआई बैंकले पनि कम पूँजीका बाबजुद १ अर्बभन्दा बढी वितरणयोग्य नाफा आर्जन गर्न सफल भएका छन् । यो सूचीमा हिमालयन बैंक सबैभन्दा पुछारमा छ । उसको वितरणयोग्य नाफा ९ अर्बभन्दा धेरै घाटामा छ । यही हालतमा यो बैंकले अझै केही वर्षसम्म लाभांश बाँड्नसक्ने संभावना न्यून देखिएको छ । एनआईसी एसिया पनि ७ अर्ब ४० करोडजति घाटा पूर्ति गरेर त्यसपछि नाफा कमाएको खण्डमा मात्रै लाभांश बाँड्नसक्ने ठाउँमा आइपुग्ने छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभू र कुमारी बैंकको वितरणयोग्य नाफा पनि ३ अर्ब वा त्योभन्दा बढी ऋणात्मक छ । १ अर्ब जति ऋणात्मक रहेको सिटिजन बैंक अन्तिमबाट छैटौँ स्थानमा देखिन्छ । त्यसपछि नेपाल बैंक, लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंक पनि लाभांश बाँड्ने संभावनाबाट अहिलेलाई अलि ‘टाढै’ देखिन्छन् । सरकारी स्वामित्वका बैंकमध्ये कृषि विकास बैंकले मात्रै लाभांश बाँड्नसक्ने अवस्था तयार पारेको छ, तर ज्यादै कम ।
सुपरस्टार एभरेष्ट

बैंकमा अर्बौँ रुपैयाँ लगानी गरेका लगानीकर्ताका लागि त्यो संस्थाले दिने प्रतिफल नै सबैभन्दा ठूलो कुरा हो । तर केही वर्षयता थुप्रै बैंकहरु आफैँले निक्षेपकर्तालाई दिने ब्याजदर बराबर पनि लाभांश बाँड्न नसक्ने हालतबाट गुज्रिरहेका छन् । अझ कतिपय बैंक त अझै केही वर्ष लाभांशको आशा नै गर्नु नपर्ने अवस्थामा छन् ।
यस्तो अवस्थामा भारतको पञ्जाब नेशनल बैंकको साझेदारीमा खुलेको एभरेष्ट बैंकले आफूलाई ‘इन्डस्ट्रीकै सुपरस्टार’का रुपमा उभ्याएको छ । पुस मसान्तको वित्तीय विवरणले ऊसँग झण्डै ३२ प्रतिशतको लाभांश क्षमता हुने देखाएको छ । जुन, पोहोर साल ३० प्रतिशत हाराहारी थियो ।
नबिल बैंकले पनि पोहोरको ९ प्रतिशतको लाभांश क्षमतालाई बढाएर २२ प्रतिशत पुर्याएको छ । उता सिद्धार्थ बैंकको यो सालको वितरणयोग्य नाफामात्रै हिसाब गर्दा करीब साढे ५ प्रतिशतको प्रतिफल क्षमता बनेको देखिन्छ । तर उसले ‘क्यापिटल रिटम्प्सन रिजर्भ’मा भएको पैसा ‘क्यापिटल एड्जस्टमेन्ट रिजर्भ’मा तानेको बताएको छ । झण्डै २ अर्ब ७५ करोड रुपैयाँ पैसा यसरी वितरण गर्न मिल्ने कोषमा तानेसँगै उसको प्रतिफल क्षमता पनि २० प्रतिशतभन्दा माथि पुग्ने बैंकले जनाएको छ ।
स्ट्याण्डर्ड चार्टर्डले पनि १७ प्रतिशतभन्दा माथिको प्रतिफल क्षमता आर्जन गरेको जनाएको छ । उसले पोहोर साल साढे २३ प्रतिशलको प्रतिफल दर हासिल गरेको थियो । सानिमा बैंकले करीब १७ प्रतिशत र नेपाल एसबीआईले १६ प्रतिशत प्रतिफल क्षमता बनाएका छन् । यी बैंकको पोहोर सालको क्षमता क्रमश: १९ र १७ प्रतिशत हाराहारी थियो । ग्लोबल आईएमईले भने १२ प्रतिशत हाराहारीको लाभांश क्षमतालाई यो साल पनि स्थिर राखेको छ ।
एनएमबी, माछापुच्छ्रे र प्राइम बैंकले पनि ‘वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा’का आधारमा प्रतिफल बाँड्ने थोरबहुत क्षमता राखेको देखिन्छ । यीस्मध्ये माछापुच्छ्रेले यो साल राम्रो प्रगति गरेको छ । पोहोरको पुस मसान्तसम्म शून्य हाराहारी रहेको उसको प्रतिफल क्षमता यो साल ७ प्रतिशतभन्दा माथि पुगेको छ । उता एनएमबीको १० बाट घटेर ५ प्रतिशतमा र प्राइमको १५ प्रतिशतबाट घटेर ३ प्रतिशतमा झरेको छ ।













