सरकारी बैंकहरुको दोस्रो त्रैमासिक : राष्ट्रिय वाणिज्य र नेपाल बैंकको नाफामा उछाल, कृषि विकासको भने घट्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सरकारी बैंकहरुको दोस्रो त्रैमासिक : राष्ट्रिय वाणिज्य र नेपाल बैंकको नाफामा उछाल, कृषि विकासको भने घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सरकारी लगानी रहेका तीन प्रमुख वाणिज्य बैंकहरुको प्रदर्शन मिश्रित देखिएको छ । 

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ भने कृषि विकास बैंकको खुद नाफामा भने गिरावट आएको छ ।

सरकारी बैंक मध्ये समीक्षा अवधिमा नेपाल बैंक लिमिटेडले सबैभन्दा बढी नाफा गरेको छ । बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८३.०४ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ पुगेको छ । उक्त नाफा गत वर्षको तुलनामा ८४ करोड ३८ लाख रुपैयाँले बढी हो । गत वर्ष नेपाल बैंकको नाफा ४६ करोड १० लाख रुपैयाँ मात्र थियो । 

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा पनि १३२.०४ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको पुस मसान्तसम्ममा ७६ करोड ३० लाख रुपैयाँ नाफा रहेको थियो । यो वर्षको सोही अवधिमा वाणिज्य बैंकको नाफा १ अर्ब ७४ लाख रुपैयाँले बढेर १ अर्ब ७७ करोड ५ लाख रुपैयाँ पुगेको छ । 

नाफामा हेर्ने हो भने कृषि विकास बैंक भने घटेको देखिएको छ । गत वर्षको समीक्षा अवधिमा ९५ करोड ७५ लाख रुपैयाँ नाफा गरेको कृषि विकास बैंकको खुद नाफामा यो वर्षको सोही अवधिमा भने २६ प्रतिशतले कम भएको छ । कृषि विकास बैंकको नाफा २५ करोड १ लाख रुपैयाँले घटेर ७० करोड ७४ लाख रुपैयाँमा समिति भएको छ । 

नेपाल बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटे पनि इम्पेरमेन्ट चार्ज (सम्भावित कर्जा नोक्सानी व्यवस्था) उल्लेख्य घट्नु नाफा बढ्नुको मुख्य कारण हो । गत वर्ष २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको यस्तो चार्ज अहिले ४७ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।

कृषि विकास बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोडबाट बढेर ४ अर्ब ५१ करोड रुपैयाँ पुगेको भए तापनि सञ्चालन नाफा १ अर्ब ३४ करोडबाट घटेर १ अर्ब ९२ लाख रुपैयाँमा झरेका कारण खुद नाफामा असर परेको देखिन्छ । 

नेपाल बैंकको निक्षेप ९.८७ प्रतिशत र कर्जा प्रवाह ४.४४ प्रतिशतले बढेको छ । उता कृषि विकास बैंकले ३ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कृषि विकास बैंकको निष्क्रिय कर्जा (एनपीएल) ४.९० प्रतिशतबाट घटेर ४.६५ प्रतिशतमा झर्नुलाई सकारात्मक सूचकको रुपमा लिन सकिन्छ ।

समग्रमा, वाणिज्य बैंकहरुको औसत नाफा ११.५१ प्रतिशतले बढिरहँदा सरकारी बैंकहरुमध्ये नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले औसतभन्दा बढी वृद्धिदर हासिल गरेका छन् भने कृषि विकास बैंकले आम्दानी बढे पनि नाफा जोगाउन संघर्ष गरिरहेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्