आधारदर १४० आधार विन्दु ओर्लियो, २ वर्षसम्म ब्याजदर नबढ्ने संकेत ! - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आधारदर १४० आधार विन्दु ओर्लियो, २ वर्षसम्म ब्याजदर नबढ्ने संकेत !



काठमाडौँ । अहिले बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम बढ्दै गएपछि यही हालत कायम रहेमा कम्तिमा पनि अबको दुई वर्षसम्म ब्याजदर बढ्न नसक्ने संकेत देखिएको बैंकरले बताएका छन् । निक्षेपको ओहिरो लागिरहने, तर कर्जा प्रवाह असाध्यै सुस्त हुने अवस्थाले अहिले समस्या निम्त्याएको उनीहरुको बुझाई छ ।

राष्ट्र बैंकका अनुसार माघ १४ मा बैंक तथा वित्तीय संस्थामा ५३ अर्ब ४६ करोड ५८ लाख हाराहारी अधिक तरलता (तत्काल लगानी गर्ने स्राेत) छ । तर यतिमात्रै पैसा बैंकमा भएको होइन ।

राष्ट्र बैंकले अहिले निक्षेप संकलन बोलकबोलबाट बैंकहरुसँग ४ खर्ब ६४ अर्ब ५५ करोड र स्थायी निक्षेप सुविधा (एसडीएफ)मार्फत् २ खर्ब १० अर्ब ७० करोड गरी कुल ६ खर्ब ७५ अर्ब २५ करोड रुपैयाँ ‘प्रशोचन’ गरिरहेको छ । यस बाहेक राष्ट्र बैंक ऋणपत्र (एनआरबी बण्ड)मार्फत् लिएको अर्को २ खर्ब लिएको छ । यसमा विद्यमान अधिक तरलाता ५३ अर्बको हिसाब जोड्ने हो भने कुल ९ खर्ब २९ अर्ब हाराहारी पैसा ‘लगानीका लागि तयार’ हालतमा देखिन्छ ।

निक्षेप थपिँदै, सुस्त कर्जा

गएको असारदेखि मंसिरको बीचमा बैंक तथा वित्तीय संस्थामा २ खर्ब ८१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप थपिएको छ । निक्षेपको वार्षिक वृद्धिदर पनि १३.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

तर यसै पाँच महिनामा कर्जा भने १ खर्ब २ अर्बमात्रै बढेको छ । अर्थात्, जति निक्षेप बढ्यो, त्यसको ३९ प्रतिशत जतिमात्रै कर्जा बढेको छ । जबकी यस्तो कर्जा निक्षेपको ८५ देखि ९० प्रतिशत हुनुपर्ने हो । वार्षिक रुपमा कर्जाको बृद्धिदर ६.६ प्रतिशत देखिएको छ । जबकी, राष्ट्र बैंकले मौद्रिक नीतिमै १२ प्रतिशतले कर्जा बढाउने प्रक्षेपण गरेको थियो ।

यही हिसाबले कर्जा प्रवाह हुने हो भने वर्षभरीमा २ खर्ब ४५ अर्ब हाराहारीमात्रै कर्जा प्रवाह हुने देखिन्छ । तर बैंकहरुसँगको लगानी योग्य पैसा अहिले नै सवा ७ खर्ब नाघिसकेको छ । यस आधारमा त अबको साढे २ वर्षमा थपिने ऋणका लागि आजैको मितिमा स्रोत जुटिसकेको देखिन्छ । अर्थात्, बढ्दो निक्षेप र सुस्त कर्जाबीचको यही अन्तर बढ्दै जाँदा अधिक तरलताको भारी पनि झन् झन् ठूलो बन्दै गएको छ र त्यो थप बढ्ने दिशातर्फ अग्रसर छ ।

यसको असर बैंकहरुको अधार दरमा पनि देखिएको छ ।

आधार दरमा के असर ?

हालैमात्र प्रकाशित वाणिज्य बैंकहरुको पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार उनीहरुको ‘आधार दर’ ऐतिहासिक न्यून स्तरतिरै रहेको देखिन्छ । लामो समय ७–९ प्रतिशतको बीचमा रहेको वाणिज्य बैंकहरुको औसत आधार दर अहिले ५.३४ प्रतिशतमा झरेको छ । जुन, अघिल्लो साल पुस मसान्तमा ६.७५ प्रतिशत थियो । यो एक वर्षमा आधार दर करीब १४१ आधा विन्दु (१.४१ प्रतिशत विन्दु) घटेको छ ।

ग्लोबल आईएमई, प्रभू र लक्ष्मी सनराइज बैंकको आधार दर १७० आधार विन्दुभन्दा ज्यादा घटेका छन् । सिटिजन, माछापुच्छ्रे, हिमालयन, कृषि विकास, सानिमा र कुमारी बैंकले पनि आधार दरलाई १५० आधार विन्दुभन्दा फराकिलो रफ्तारले घटाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै बैंकको आधार दर १ प्रतिशत विन्दुभन्दा ज्यादा घटेको छ ।

तर अझै पनि सबैभन्दा सस्तो ब्याजमा ऋण दिनसक्ने सामथ्र्य चाहीँ राष्ट्रिय वाणिज्य बैंकसँगै छ । उसको आधार दर त ४.४२ प्रतिशतमा झरेको छ । एभरेष्टको ४.७५ र स्ट्याण्डर्ड चार्टर्डको ४.७६ प्रतिशत छ । नेपाल बैंकको ४.९६ प्रतिशत छ । अहिले सर्वाधिक आधार दर भएको बैंक एनआईसी एसिया हो । उसको आधार दर अहिले पनि ६.४१ प्रतिशत रहेको देखिन्छ ।

यसको मतलव एनआईसीले या त निक्षेपकर्तालाई बढी ब्याज दिइरहेको छ, या उसको सञ्चालन खर्च नै असाध्यै महँगो छ । आधार दरमा मुख्य रुपमा निक्षेपका लागि तिर्ने ब्याज र बैंकको सञ्चालन खर्चको हिसाब गरिन्छ । उदाहरणका लागि कुनै बैंकले १०० रुपैयाँ निक्षेप संकलन गर्न वर्षको २ रुपैयाँ ब्याज दियो र त्यो सय रुपैयाँ निक्षेप परिचालन गर्न बैंकको अर्को १ रुपैयाँ खर्च भयो भने आधार दर ३ प्रतिशत हुन्छ । यद्यपि, यसको गणना गर्ने निश्चित विधी राष्ट्र बैंकले नै तोकिदिएको छ ।

अब बाँकी १५ वाणिज्य बैंकको आधार दर अहिले ५ प्रतिशतभन्दा माथि, ६ प्रतिशतभन्दा कममात्रै छ । यसमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर बैंकहरुले ऋण दिन्छन् । त्यसैले अहिले बैंकहरुको ब्याजदर ६ देखि १० प्रतिशतको बीचमा देखिन्छ । तर लगानीयोग्य पैसा नै असाध्यै धेरै भएकाले अहिले बैंकले ज्यादा प्रिमियम जोडिरहेका छैनन् । यही सस्तो ब्याजमा पनि ऋण नगएपछि बैंकहरु समस्यामा परेका छन् ।

वित्तीय क्षेत्रको यही रफ्तार अझै कतिञ्जेल चल्छ र बैंकको ब्याजदर ‘नबढ्ने’ समय सीमा कति लम्बिन्छ भन्ने स्पष्ट जानकारी अझै आएको छैन ।


प्रतिक्रिया दिनुहोस्