८ श्रावण २०८३, शुक्रबार

३२ खर्ब ४२ अर्ब पुग्याे विदेशी विनिमय सञ्चिति, २१.४ महिनाको वस्तु आयात धान्ने



काठमाडौ । मुलुकको विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २१.१ प्रतिशतले बढेको हो । २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

गत असारमा अमेरिकी डलरमा १९ अर्ब ५० करोड रहेको यस्तो सञ्चिति पुस मसान्तमा १५.२ प्रतिशतले बढेर भई २२ अर्ब ४७ करोड पुगेको छ ।

स्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १९.४ प्रतिशतले बढेर २८खर्ब ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको थियो ।

यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ पुस मसान्तमा ३६.२ प्रतिशतले वद्धि भई रु.३५८ अर्ब ३७ करोड कायम भएको छ । २०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२÷८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्