‘आफ्नै’ भनेकाहरुले धोका दिएपछि…. « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

‘आफ्नै’ भनेकाहरुले धोका दिएपछि….



‘पञ्चतन्त्र’मा एउटा श्लोक छ :- त्यजन्ति मित्राणि धनैर्विहीनं दाराश्च पुत्राश्च सुहृज्जनाश्च । तं अर्थवन्तं पुनराश्रयन्ति अर्थो हि लोके पुरुषस्य बन्धुः ॥

अर्थात्, जब मानिस धनहीन र शक्तिहीन हुन्छ, तब मित्रहरू, छोराछोरी, श्रीमती र आफ्ना भनिएका हितैषीहरूले समेत उसलाई त्यागेर हिँड्छन्। तर जब उसले त्यो सम्पत्ती पुन: हासलि गर्छ, त्यसपछि यी सबै तुरुन्त फर्केर आउँछन् । त्यसैले धन नै मनुष्यको सबैभन्दा ठूलो बन्धु हो ।

यही कुरा भन्न नेपालीहरुले अलि अनौपचारिक, तर असाध्यै तीखो र चोटीलो गरी अर्को उखान बनाएका छन्– ‘मरेको गोरुलाई जुम्राले पनि छाड्छ’ । वास्तवमा हाम्रो समाज यस्तै छ । र यही सामाजिक चरित्रको एउटा नयाँ शिकार बनेका छन्– बैंकर अशोक शेरचन ।

उनी बैंकिङ कसूरसम्बन्धी एउटा मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमा बसेर निस्किए । अर्थपथले यस किसिमको आर्थिक अपराधमा पहिले नै जोकोहीलाई थुन्ने नेपालको कानूनको सुरुदेखि नै आलोचना गर्दै आएको छ । कुनै पनि उद्योगी, व्यवसायी, बैंकर वा प्रोफेशनलहरुलाई यसरी अभियोजन समेत नहुँदै अपराधिकरण गर्ने गरी गिरफ्तार गर्नु कुनै पनि हिसाबले न्यायसंगत र तर्कसंगत छैन ।

यो मुद्दामा शेरचन साँच्चै दोषि छन् कि छैनन्, उनीमात्रै दोषि हुन् कि त्यसको भागिदार अरु पनि हुन्, सबै सम्भावित दोषिमाथि प्रहरी र राज्यका अन्य अनुसन्धान तथा तहकीकात निकायहरुले समान किसिमले अनुसन्धान अघि बढाएका छन् की छैनन्, यी लगायतका तमाम प्रश्नका जवाफ भविष्यमा आउलान्, नआउलान् ।

तर आज यहाँ ती विविध पाटोको विश्लेषण होइन, एक जना व्यक्तिले तयार पारेको ‘स्वराज’ कसरी क्षणभरमै ध्वंश हुन्छ र ‘हितैषी’ भनिएकाहरु यो वैष्ययुगमा कसरी रातारात ‘वैरी’ बन्छन् भन्ने एउटा सामान्य घटनाको चर्चा यहाँ गरिएको छ ।

अशोकको शोक

झण्डै एक महिनाको हिरासत बसाईपछि पुस ११ मा रिहा भएका प्रभू बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन त्यसपछि फेरी बैंकमा फर्कन पाएनन् । एउटा सानो वित्त कम्पनीलाई विशाल वाणिज्य बैंकको रुपमा खडा गर्ने मुख्य पात्र हुन् शेरचन । तर अहिले आफैँले खडा गरेको त्यो साम्राज्य उनी आफैँका लागि ‘विरानो’ बनेको छ ।

एउटा संस्थालाई आफ्नो जीवनको ऊर्जाशील दुई दशक दिएर ‘तीलबाट पहाड’ बनाएका शेरचनलाई त्यही बैंकले ‘अपमानपूर्वक’ निकालिदियो । आफ्नो जीवनमा अशोकले प्रभू बैंककै दशौँ हजार कर्जा प्रस्तावहरुमा हस्ताक्षर गरेका छन् । अर्बौँ रुपैयाँ ऋण लगानी गरेका छन् । त्यसमध्ये एउटा ऋणमा समस्या भएपछि अहिले उनलाई प्रहरीले पक्राउ गर्यो ।

हिरासतमा परेपछि उनको सीईओ पद ‘निलम्बित’ भयो । हाजिरी जमानीमा हिरासतबाट निस्किएपछि पनि बैंकको सञ्चालक समितिले उनको निलम्बन फुकुवाका लागि पहल लिएन । बरु उल्टै उनलाई हटाएर नयाँ सीईओ नियुक्त गर्ने निर्णयमा पुग्यो । भर्खरैमात्र प्रभू बैंकमा सुमन शर्मा नयाँ सीईओ बनेका छन् । उनी तुलनात्मक रुपले ‘सोझा’ मानिन्छन् । र अशोकको अनुभवले शर्मालाई चानचुने चुनौती दिएको छैन ।

सञ्चालकको घरमा बैठक राखेर ‘डिल’

प्रभू बैंकका विश्वस्त सूत्रले दिएको जानकारी अनुसार अशोकलाई हटाउने कि निलम्बन फुकुवा गर्ने भन्ने लामो छलफलमा गत आइतबार राती ‘ब्रेक’ लागेको थियो । त्यस रात बैंककी एक जना सञ्चालक अम्बिका शर्मा लामिछानेको घरमा ‘बोर्ड बैठक’ बसेको स्रोतको दाबी छ ।

त्यो बैठकपछि भोलिपल्ट सोमबार विहानै अशोकलाई बोलाएर राजिनामा दिन लगाइएको स्रोतले बतायो । उनले राजिनामा दिएपछि बैंकको नयाँ सीईओका रुपमा सुमन शर्मालाई नियुक्त गरियो । शर्मालाई नियुक्त गर्न राष्ट्र बैंकका केही अधिकारीहरुले पहिलेदेखि नै दबाब दिइरहेको समाचार त पहिले नै आएका थिए । तर उनैको नियुक्तिले केन्द्रिय बैंकको दबाबले ‘काम गरेजस्तो’ पनि देखिएको छ ।

राष्ट्र बैंककी बरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनासँग अशोकको पहिलेदेखि नै तनावपूर्ण सम्बन्ध थियो । नीलनले त अशोकलाई ‘जेल हाल्छु’ भनेर घोषित रुपमै भनेकी प्रभूका एक उच्चपदस्थ अधिकारीले सम्झाए । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा वाणिज्य बैंक हेर्ने सुपरिवेक्षण विभाग प्रमुख दीर्घबहादुर रावलले पनि अशोकलाई हटाउन दबाब दिएको अशेकका निकटस्थहरु बताउँछन् ।

यता अम्बिकाले सुमनलाई अघि सारेपछि सिंगो सञ्चालक समितिले त्यसमा ‘लालमोहर’ लगाइदिएको अशोकका नीकटस्थहरु बताउँछन् । उनी भन्छन्, ‘बैक भित्र र बाहिरबाट पनि उनको पक्षमा लबिङ गर्ने मान्छे नै भएन । सञ्चालक समितिले राष्ट्र बैंकसँग आफ्नो अडान लिनुपर्नेमा त्यसो गरेन । बरु राष्ट्र बैंकलाई नै देखाएर सीईओलाई हटाउने रणनीतिमा लाग्यो ।’

५१ वर्षीया अम्बिका पोहोर सालको पुस अन्तिममा भएको वार्षिक साधारण सभाबाट बैंकको सञ्चालक चुनिएकी थिइन् । त्यसअघि उनी बेलायतमा रहेको प्रभू बैंकको प्रतिनिधी कार्यालयमा थिइन् । पोहोर साल यो बैंकमा आउनुभन्दा ठ्याक्कै अघि चाहीँ उनी हाथ्वे स्टकडिलरको सञ्चालक थिइन् । यो प्रभू समूहको प्रतिस्पर्धी मानिने आईएमई ग्रुप अन्तरगतको कम्पनी हो ।

आफैँले बनाएका थिए सञ्चालक

अहिलेको सञ्चालक समितिमा एसियन लाइफका प्रतिनिधी बृखबहादुर बस्नेतबाहेक सबै सञ्चालकहरु अशोकले नै बनाएका थिए । उनले प्रभू ग्रुपबाट निर्णय गराएर अनेकौँ लगानीकर्ताको प्रोक्सी जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बैंकका उच्च पदस्थ कर्मचारीहरु बताउँछन् ।

अहिले सीईओ हटाउन ‘खेलोफड्को’ गरेको आरोप लागेकी अम्बिका शर्मा करीब डेढ करोड मूल्यको शेयर लिएर सञ्चालक बन्न आएकी बैंकका अधिकारीहरु बताउँछन् । उनलाई अशोकले नै प्रभू समेतका ग्रुपसँग प्रोक्सी दिलाएर उनलाई सञ्चालक बनाएको उनीहरु बताउँछन् ।

अहिलेका सञ्चालक समितिको अध्यक्ष रहेका किशोरजंग कार्की र अङ्गिरमान सिंह पनि प्रभू ग्रुप सहितका संस्थागत लगानीकर्ताकै सहयोगमा सञ्चाक बनेका हुन् । स्वतन्त्र सञ्चालक रमेशराज अर्याललाई पनि अशोककै सिफारिसमा नियुक्त गरिएको थियो । राजु पौडेललाई सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक (पब्लिक डाइरेक्टर) बनाउन त अशोकले ज्यादै ठूलो पैसा खर्च गरेका थिए ।

त्यति बेला अशोकले ४ देखि ५ करोड हाराहारी खर्च गरेर प्रोक्सी तयार पारेको बैंकका अधिकारीहरु बताउँछन् । एक उच्च अधिकारीले भने, ‘त्यति बेला एसियन लाइफले सेयर उठाइरहेको थियो । प्रतिकित्ता ३२५ देखि ३५० रुपैयाँसम्म तिरेर दोस्रो बजारबाट अशोकले शेयर किनेका थिए । पछि त्यो सेयर बेच्ने बेलामा भाउ घटेर २८० रुपैयाँतिर पुग्यो ।’

एक रुपैयाँ पनि लाभांश बाँढ्न नसकेको बैंकमा अशोकको समूहले दिनहुँ २० लाख, ३० लाख, ४० लाख कित्ताका दरले सेयर किनेको थियो । यसरी बजारबाट भारी मात्रामा सेयर उठाएर प्रोक्सी जुटेको हो । यसरी सेयर किनबेच गर्न अशोकले नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) र दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस (ब्रोकर नम्बर ५९) चलाएका थिए ।

यसरी करोडौं रकम खर्च गरेर सञ्चालक बनाएका आफ्ना ‘हितैषी’हरुले नै अहिले उनैलाई हटाइदिए । बैंकका अर्का अधिकृत पनि भन्छन्, ‘सीईओ साब (अशोक)को पक्षमा लबिङमा लाग्ने मान्छे अहिले कोही पनि भएन । अहिले निलम्बन विरुद्ध निवेदन हाल्ने मान्छे पनि भएनन् ।’

सञ्चालक समिति अध्यक्ष किशोरले कयौँ पटकसम्म अशोकले फोन गर्दा टेलिफोनसमेत उठाएनन् । अङ्गिरमान सिंहसँगको सम्बन्ध त पहिले नै विग्रिसकेको थियो । उनलाई सञ्चालकबाटै हटाउन अशोकले प्रभू ग्रुपको बोर्डबाट चिठी पठाउन लगाएका थिए । तर एउटा विशाल वृक्षमा धमिरा लागेजस्तै त्यतिञ्जेलसम्म बैंकमा अशोकको पकड कमजोर भइसकेको थियो । कम्पनी सचिवले ‘प्रतिनिधी तपाइँहरुकै भए पनि प्रोक्सी अर्कैको हो, प्रोक्सी दिनेले फिर्ता मागेको छैन’ भनेर प्रभू ग्रुपलाई नै पत्र ‘फिर्ता’ गरिदिए ।

त्यसैले सिंहसँग अशोकको अपेक्षा थिएन । तर अरु सञ्चालक ‘आफ्नो पक्षमा छन्’ भनेर उनी ढुक्क थिए ।

तर अब अशोकलाई लाग्दैछ कि ‘मबाट गल्ति भयो ।’ उनी आफ्ना निकटस्थ सहकर्मीहरुसँग भन्दै छन्– ‘मैले गलत मान्छे छानेछु ।’

भलै, उनका केही सहकर्मीहरुलाई लाग्छ, ‘अशोकले गलत मान्छे छानेका होइनन् । गलत त समय भएको हो ।’ संसार त यस्तै छ, सुकेको पोखरीमा हाँस र ओइलाएको फूलमा भमरा टिक्दैन ।


प्रतिक्रिया दिनुहोस्