डिजिटल भुक्तानीमा छलाङ: ६ महिनामै ३८ करोड पटक मोबाइल बैंकिङ प्रयोग, ६० खर्बको आँकडा पार गर्ने संकेत
काठमाडौं । नेपालमा पछिल्लो समय डिजिटल बैंकिङप्रति सर्वसाधारणको आकर्षण तीव्र गतिमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनाको तथ्यांक अनुसार मोबाइल बैंकिङमार्फत हुने कारोबारको संख्या र रकम दुवैमा उल्लेख्य वृद्धि देखिएको हो ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा मात्रै मोबाइल बैंकिङमार्फत ३८ करोड ३ लाख ७२ हजार ४४१ पटक कारोबार भएको छ । यस अवधिमा कुल ३० खर्ब ११ अर्ब ७७ करोड ५ लाख ४७ हजार रुपैयाँ बराबरको भुक्तानी मोबाइल एपमार्फत भएको देखिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षहरूको तुलनामा यो वृद्धिदरले नेपालको अर्थतन्त्र तीव्र रूपमा ’क्यासलेस’ तर्फ उन्मुख भएको पुष्टि गर्दछ ।
५ वर्षमा तेब्बरले बढ्यो कारोबार
विगत ५ वर्षको तथ्यांकलाई विश्लेषण गर्दा मोबाइल बैंकिङको प्रयोगमा अकल्पनीय वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा वार्षिक कारोबार संख्या करिब १८ करोड १५ रहेकोमा आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा यो बढेर ६१ करोड ४१ लाख ३३ हजार ९१० मा आइपुगेको तथ्यांकमा देखिएको छ ।
चालु आर्थिक वर्षको सुरुवाती ६ महिनाको प्रवृत्तिलाई हेर्दा यो वर्षको अन्त्यसम्ममा कारोबार संख्याले ७५ करोडको आँकडा पार गर्ने अनुमान गर्ने सकिन्छ ।

कारोबार रकममा उछाल ६ महिनामै ३० खर्ब माथि
रकमका आधारमा हेर्दा आर्थिक वर्ष २०७८/७९ मा वार्षिक १२ खर्ब १० अर्बको कारोबार भएको थियो । तर, गत आर्थिक वर्ष २०८१/८२ मा यो रकम बढेर वार्षिक ५० खर्ब १८ अर्ब ३३ करोड पुगेको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको तथ्यांक (३० खर्ब ११ अर्ब) ले के देखाउँछ भने अबको बाँकी ६ महिनामा यो वृद्धि कायम रहे चालु वर्षको अन्त्यसम्ममा मोबाइल बैंकिङबाट मात्रै हुने कारोबार ६० खर्ब रुपैयाँ नाघ्ने निश्चित देखिएको छ ।

किन बढ्दैछ मोबाइल बैंकिङ ?
राष्ट्र बैंकको तथ्यांकले मोबाइल बैंकिङ अब केवल सहरिया वर्गमा मात्र सीमित नरही ग्रामीण भेगसम्म पुगेको संकेत गर्छ । क्युआर कोडको बढ्दो प्रयोग, मोबाइल एपबाटै खानेपानी, बिजुली, इन्टरनेटको महसुल भुक्तानी गर्ने सुविधा र बैंकहरूको आक्रामक डिजिटल विस्तारले यसलाई सघाएको हो ।
गत आर्थिक वर्ष २०८०/८१ मा ३४ खर्ब ५२ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा एकै वर्षमा करिब १५ खर्ब रुपैयाँभन्दा बढीको वृद्धि देखिनुले नागरिकहरू भौतिक नगद बोक्नुभन्दा डिजिटल वालेट र मोबाइल बैंकिङमा बढी सुरक्षित र सहज महसुस गर्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकले ’डिजिटल पेमेन्ट’ लाई उच्च प्राथमिकतामा राखेका कारण कारोबारको यो ग्राफ निरन्तर उकालो लागिरहेको छ । ६ महिनाको यो उत्साहजनक तथ्यांकले चालू आवको अन्त्यसम्ममा नेपालको डिजिटल अर्थतन्त्रले नयाँ उचाइ लिने देखिन्छ । यद्यपि, बढ्दो कारोबारसँगै हुनसक्ने साइबर जोखिम र प्राविधिक सुरक्षामा भने बैंकहरूले थप लगानी गर्नुपर्ने चुनौती पनि थपिएको छ ।













