सामाजिक सञ्जालमाथि निर्मम बन्दै सरकार, चुनावमा ड्रोन किन प्रतिबन्ध ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सामाजिक सञ्जालमाथि निर्मम बन्दै सरकार, चुनावमा ड्रोन किन प्रतिबन्ध ?



काठमाडौं । सरकारले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । आकाशबाट तस्वीर तथा भिडियोहरु खिच्ने ड्रोनको मद्दतले चुनावमा हुने गलत क्रियाकलापलाई बाहिर ल्याउन सक्ने अनुमान गरिएको थियो ।

जेन जी आन्दोलनका क्रममा लुटिएका १२ सयभन्दा बढी हतियार र भागेका कैदीबन्दी तथा संगठित समूहले निम्त्याउन सक्ने सुरक्षा खतरालाई मध्येनजर गरी ड्रोनको प्रयोग बढाउनु पर्ने अवस्थामा सरकारले उल्टो बाटो रोजेको छ ।

गृह मन्त्रालयका अधिकारीहरुले आसन्न निर्वाचनमा ड्रोनको प्रयोग प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको बताएका छन् । सरकारले यस्तो निर्णयको कारण अर्थ्याउँदै ‘अहिले सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले’ ड्रोनको प्रयोगमा रोक लगाएको बताएको छ ।

ड्रोन प्रयोगमा रोक लगाउँदा अराजक मानिसहरुले गर्ने दुव्र्यवहार, बूथ कब्जा, मुठभेड, सुरक्षा कमजोरी जस्ता सम्भावित जोखिमको प्रमाणहरु संकलन नै हुन नपाउने भएका छन् । तर सरकारले यस्ता प्रमाण संकलन भएर सामाजिक सञ्जालमार्फत् प्रसारित भएमा त्यसले समग्र निर्वाचनको विस्वसनियता र पारदर्शितामा प्रश्न उब्जन सक्ने देखेर ड्रोनमा सरकारले ज्यादा ध्यान दिएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

ड्रोनको प्रयोगमात्रै होइन, सरकारले सामाजिक सञ्जालको प्रयोगमा पनि ‘कठोर’ नीति लिने जनाएको छ । मित्थ्या, भ्रमपूर्ण र लाञ्छनायुक्त सूचना तथा अभिव्यक्ति सामाजिक सञ्जालमा नराख्न सरकारले अनुरोधमात्रै गरेको छैन, त्यस्ता गतिविधि गरेमा कारबाही हुने जानकारी गराएको छ ।

ड्रोनको प्रयोग रोक्नेदेखि सामाजिक सञ्जालसम्मलाई निगरानी गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई अझ बलियो र प्रभावकारी बनाउने कोसिस भइरहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन् । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणा फैलाउने खालका अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा प्रहरीको टोलीले काम गरिरहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्