विपत् र जेन–जी आन्दोलको मारमा नेको इन्स्योरेन्स, कस्तो छ वित्तीय सूचक ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विपत् र जेन–जी आन्दोलको मारमा नेको इन्स्योरेन्स, कस्तो छ वित्तीय सूचक ?



काठमाडौं । प्राकृतिक विपत्ति र जेन–जी आन्दोलनका कारण सिर्जित उच्च बीमा दाबीका कारण नेको इन्स्योरेन्स कम्पनीको मुनाफामा उल्लेख्य गिरावट आएको छ ।

चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले १ करोड ७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा निकै कम हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड ६० लाख ३० हजार रुपैयाँ नाफा कमाएको नेको इन्स्योरेन्सको मुनाफा यस वर्ष ९३ प्रतिशत भन्दा बढीले घटेको देखिन्छ । भदौमा भएको ’जेन–जी’ आन्दोलन र असोजमा आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो रकम बीमा दाबीमा खर्च गर्नुपरेपछि नाफा खुम्चिएको हो ।

वित्तीय सूचकमा परेको प्रभाव कम्पनीको व्यवसायमा पनि सामान्य गिरावट देखिएको छ । चालू आवको ६ महिनामा कम्पनीले १ अर्ब १८ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जबकि गत वर्ष १ अर्ब २० करोड रुपैयाँ संकलन भएको थियो । यद्यपि, खुद बीमा शुल्क भने १.४९ प्रतिशतले बढेर ६९ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

विवरण अनुसार कम्पनीको खर्च व्यवस्थापनमा भने चुनौती देखिएको छ । समीक्षा अवधिमा कुल आम्दानी १.९० प्रतिशतले घटेर १ अर्ब २ करोड ७१ लाख रुपैयाँ रहँदा कुल खर्च भने २२.७७ प्रतिशतले बढेर १ अर्ब २ करोड १७ लाख रुपैयाँ पुगेको छ । यस्तै, अभिकर्तालाई वितरण गरिने कमिसन पनि ४४.३२ प्रतिशतले वृद्धि भई ३ करोड १० लाख रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानीमा धक्का नाफामा आएको संकुचनसँगै कम्पनीको प्रतिशेयर आम्दानी –इपिएस) मा पनि ठूलो गिरावट आएको छ । अघिल्लो वर्ष १५.५१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी हाल घटेर ०.८० रुपैयाँमा झरेको छ । हाल कम्पनीको प्रतिशेयर नेटवर्थ २३३.३५ रुपैयाँ रहेको छ ।

२ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेको इन्स्योरेन्सले सम्भावित जोखिमका लागि जगेडा कोषमा ५८ करोड ७१ लाख रुपैयाँ र महाविपत्ति कोषमा १६ करोड ७७ लाख रुपैयाँ सुरक्षित राखेको छ ।


प्रतिक्रिया दिनुहोस्