हिमालयन लाइफले ६ महिनामा कमायाे २० करोड ६७ लाख नाफा, जीवन बीमा कोष ८२ अर्ब नाघ्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन लाइफले ६ महिनामा कमायाे २० करोड ६७ लाख नाफा, जीवन बीमा कोष ८२ अर्ब नाघ्यो



काठमाडाैं । चालू आर्थिक वर्षकाे पहिलाे ६ महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले २० करोड ६७ लाख रुपैयाँ नाफा कमाएकाे छ ।

इन्स्योरेन्सले सार्वजनिक गरेकाे चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तमा इन्स्याेरेन्सकाे नाफा ४५.०६ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

नाफामा संकुचन देखिए तापनि कम्पनीको जीवन बीमा कोषको आकारमा भने वृद्धि देखिएको छ। अघिल्लो वर्षको पुस मसान्तमा ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ रहेको यस्तो कोष १७.७५ प्रतिशतले बढेर यो वर्ष ८२ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

व्यवसाय विस्तारका क्रममा कम्पनीले समीक्षा अवधिसम्म ८ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.३१ प्रतिशतले बढी हो। यस्तै, खुद बीमाशुल्क आर्जन पनि ४.३० प्रतिशतले बढेर ८ अर्ब ४० करोड ७७ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको अन्य वित्तीय सूचकहरूमा पनि दबाब देखिएको छ। ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी भएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ११.४१ रुपैयाँबाट घटेर अहिले ४.५२ रुपैयाँमा झरेको छ।

विवरणअनुसार कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ११ लाख र रिटेन्ड अर्निङमा ९४ करोड ७६ लाख रुपैयाँ संचित छ भने अन्य इक्विटी ७७ करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ १०६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८०.६९ गुणा कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्